• १४ वैशाख २०८१, शुक्रबार

लटरम्म फल्यो स्याउ

blog

अमृतप्रसाद पौडेल

मुस्ताङ, असार ३० गते । स्याउको नाम आउँदा साथ आम नेपालीहरुको मुखमा एक प्रकारको स्वादको अनुभव हुन्छ त्यो हो मुस्ताङको स्याउ । मुस्ताङमा पनि विगतदेखि नै सबैले चर्चा परिचर्चा गर्ने भनेकै मार्फाको स्याउ । घरपझोङ गाउँपालिका अन्तर्गतको मार्फाको स्याउ देश विदेशमा पनि चर्चित छ । अहिले त्यही मार्फा क्षेत्रको स्याउले बोटमा आफ्नो रङ्गीन छवि प्रस्तुत गर्दैछ ।

आम नेपाली बजारमा मिठो स्याउ अनि स्याउको राजधानी भनेर मुस्ताङको मार्फालाई सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने राम्रो फलेको छ । हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । 

मुस्ताङको मुक्तिनाथमा होटल व्यववसाय सञ्चालन गर्नुभएका अमृत सुवेदी भन्नुहुन्छ –‘‘यो साल स्याउ आकर्षक देखिएको छ र फलेको पनि धेरै छ जस्तो लाग्छ ।” मुस्ताङको मुख्य उत्पादन मानिने स्याउले यस वर्ष मुस्ताङका कृषकले राम्रै आम्दानी गर्ने अनुमान गर्न सकिने सुवेदीको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख भीमसेन भण्डारी भन्नुहुन्छ– ‘‘यस वर्ष गुणस्तरीय स्याउ बजारमा जाने देखिएको छ । यस वर्ष पर्याप्त मात्रामा सिंचाइ पुगेको हुँदा स्याउको उत्पादन पनि बढ्न सक्ने अनुमान लगाउन सकिन्छ । अहिले बोटमा देखिएको स्याउले बजारमा राम्रो प्रभाव पार्न सक्छ ।’’

अबको एक महिना आकासे पानी कम भएमा स्याउले राम्रो गुणस्तर पाउँछ । यो वर्ष चिस्यान राम्रो, मार्फा क्षेत्रमा सिंचाइ आयोजना सकिएकाले सिंचाइको पनि व्यवस्था भएको हुँदा यस वर्ष स्याउ उत्पादन बढी हुने देखिएको स्थानीय कृषकको भनाइ छ । पर्याप्त मात्रामा भएको हिमपातले पनि स्याउका लागि सिंचाइ पुग्नुका साथै चिलिङ आवर पुगेकाले स्याउ उत्पादन बढ्नेतर्फ कृषक ढुक्क देखिएका छन् ।

थासाङ गाउँपालिका टुकुचेका स्याउ कृषक निरज तुलाचनले उच्च घनत्वको स्याउ १५ रोपनी क्षेत्रफलमा र परम्परागत स्याउ २० रोपनीमा लगाउनु भएको छ । उहाँले उच्च घनत्वको स्याउ लगाएको ३ वर्ष भयो अब आम्दानी बढ्दैछ । त्यस्तै परम्परागत स्थानीय जातका स्याउ राम्रो फल्दा वार्षिक ३२ टन हाराहारी उत्पादन हुने बताउनु हुन्छ । 

तुलाचनले भन्नुभयो, ‘‘यस वर्ष हिमपात राम्रो भएको हुँदा गत वर्षभन्दा यस वर्ष बोटमा स्याउ राम्रो देखिएको छ । टुकुचे क्षेत्रमा स्याउको बोटमा निकै राम्रो दाना लागेको कारण अबको मौसममा केही खराबी भएन भने गत वर्षको तुलनामा उत्पादन बढ्ने तुलाचनको अनुमान छ ।’’