बागलुङ समाचारदाता
बागलुङ, कात्तिक २४ गते । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको वार्षिक कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी स्वास्थ्य कार्यालयले खोपको सुरक्षा, वितरण र भण्डारण, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुखसहित सबैलाई तालिम दिने काम गर्छ । त्यसबाहेक मातृशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धतालगायतको अनुगमन पनि गर्ने गरेको छ ।
नियमित तालिममार्फत हरेक नयाँ कार्यक्रम लागु हुने भएकाले हरेक काम मानव स्वास्थ्यसँग जोडिएको जनस्वास्थ्य अधिकृत समिता घिमिरेले बताउनुभयो । उहाँले बागलुङको वर्तमान स्वास्थ्यको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । बालभिटा अनुगमन, आइरन चक्की र कुपोषणको अवस्था सुधारमा कार्यालयले गरेको काम र सफलतासहित एकीकृत बालरोग व्यवस्थापन, घरभित्रको प्रदूषण नियन्त्रणका लागि स्वास्थ्य शिक्षा, झाडापखाला नियन्त्रण, स्वच्छ पानीको व्यवस्थापनलगायतमा पनि जनस्वास्थ्य कार्यालयले काम गर्दै आएको घिमिरेले जानकारी गराउनुभयो ।
पछिल्लो समय गर्भपतन बढेको र त्यो पनि किशोरी उमेरमा बढेकाले त्यसको प्रभावबारे अध्ययन गर्न जरुरी भएको पनि उहाँको भनाइ थियो । बालमैत्री अभियानको अवस्था चुनौतीपूर्ण भएकाले त्यसबारे गम्भीर छलफल गर्नुपर्नेमा उहाँको जोड थियो । समीक्षामा १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखले पालिकाको वार्षिक उपलब्धि र चालु आवको कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्रदेश सरकारले बजेटलाई मितव्ययी बनाए पनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताउनुभयो ।