राजकुमार भट्टराई
खोटाङ, माघ ९ गते । महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् ।
खोटाङका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् । करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताउनुभयो।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा खोटाङका स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणकोसम्म समस्या भएका महिलाको वडा वडामै उपचार भइरहेको छ । तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर उपचार गराइरहेको आचार्यले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावा बेसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए । शिविरमा करिब एक हजार दुई सय बढी महिलाले पाठेघर परीक्षण गरेका छन् । शिविरमा उपचार सम्भव नभएका १८ जनालाई हलेसी तुवाचुङ नगरपालिकाले शल्यक्रियाका लागि शीर मेमोरियल अस्पताल लगिसकेको छ । उनीहरुको धमाधम उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विबेक पराजुलीले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिविरमा शल्यक्रिया गर्नु पर्ने देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते गाडी रिजर्भ गरेर सोही अस्पताल लगिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो । बाँकी रहेका १८ जना बिरामीलाई केही दिन भित्रमा लगिने उहाँको भनाइ छ ।
यस्तै, रावा बेसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएका छन् । उनीहरुलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौसल अधिकारीले बताउनुभयो ।
यसअघि पनि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावा बेसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुंगा गाउँपालिकाले शीर मेमोरियल अस्पताल बनेपा लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् ।
केही वर्ष अघिसम्म पाठेघरको समस्या भए पनि समाजको अगाडि लाज, डर र अज्ञानताले महिला रोग लुकाएर बस्ने गरेका थिए । तर, अहिले सबै महिलाले आफ्नो पाठेघर परीक्षण गर्न थालेका छन् । समस्या देखिएका महिला उपचारको लागि लाज नमानी अघि आउन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।
बिरामी महिलासहित कुरुवाको लागि अस्पतालसम्म आवतजावत गर्न र खाना बस्न स्थानीय तहले निःशुल्क व्यवस्थापन गर्दै आएका छन् । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा शल्यक्रियासहितको उपचार पनि निःशुल्क हुँदै आएको छ ।