• ९ माघ २०८२, शुक्रबार

इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै

blog

दुबई, माघ ९ गते । इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ । अमेरिका-आधारित मानव अधिकार कार्यकर्ताका अनुसार देशको इतिहासकै सबैभन्दा व्यापक इन्टरनेट ब्ल्याकआउट दुई हप्ता नाघेपछि वास्तविक मृतक सङ्ख्या अझै बढी हुनसक्ने गम्भीर आशङ्का छ ।

जनवरी ८ देखि इरानी अधिकारीले इन्टरनेट पहुँच लगभग पूर्ण रूपमा बन्द गरेकाले देशभित्रको अवस्था बारे विश्वसनीय सूचना प्राप्त गर्न अत्यन्त कठिन बनेको छ । यहीबिच अमेरिका र इरानबिच तनाव चर्किँदै जाँदा अमेरिकी नौसेनाको एक विमानवाहक समूह मध्यपूर्व नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारसँग कुरा गर्दै यसलाई ‘आर्मडा’ अर्थात् विशाल नौ सैनिक शक्तिसँग तुलना गर्नु भएको छ ।

मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार मृतक मध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकार सम्बद्ध व्यक्ति, ४३ जना बालबालिका र ४० जना विरोधमा संलग्न नभएका सर्वसाधारण नागरिक छन् । साथै, अधिकारीले चलाएको व्यापक गिरफ्तारी अभियानमा २६ हजार ८०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको जनाइएको छ ।

उक्त एजेन्सीले इरानभित्र रहेका कार्यकर्ताको सञ्जालमार्फत मृत्यु पुष्टि गर्दै आएको छ र यसका अघिल्ला तथ्याङ्क पनि प्रायः विश्वसनीय ठहरिएका छन् । दशकौँयताका कुनै पनि विरोध आन्दोलनभन्दा यो मृतक सङ्ख्या बढी भएको बताइन्छ, जसले सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अराजक अवस्थाको सम्झना दिलाएको छ ।

इरान सरकारले भने बुधबार पहिलो पटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मृत्यु भएको स्वीकार गरेको छ । सरकारी विवरण अनुसार डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनमा दुई हजार ४२७ जना नागरिक र सुरक्षा बलका सदस्य मारिएका थिए भने बाँकीलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकृत गरिएको छ । विगतमा इरानी सरकारले यस्ता घटनामा मृतक सङ्ख्या कम देखाउने वा सार्वजनिक नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

एसोसिएटेड प्रेसले इन्टरनेट बन्द र अन्तर्राष्ट्रिय कल अवरुद्ध भएकाले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानमा विदेशी पत्रकारको प्रत्यक्ष रिपोर्टिङ क्षमता सीमित छ र सरकारी टेलिभिजनले प्रदर्शनकारीलाई अमेरिका र इजरायलद्वारा उक्साइएका ‘दङ्गाकारी’ भन्दै प्रमाणबिनै आरोप लगाइरहेको छ ।

शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र तेहरानले सम्भावित सामूहिक मृत्युदण्डतर्फ कदम चाल्न सक्ने सङ्केत दिएपछि तनाव झन् बढेको छ । राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र सामूहिक मृत्युदण्ड जस्ता कदमलाई पार गर्न नहुने लक्ष्मण रेखा भन्दै कडा चेतावनी दिनु भएको छ । 

इरानका महान्यायाधिवक्ता लगायतका अधिकारीले पक्राउ परेका मध्ये केहीलाई ‘मोहरेब’ अर्थात् ‘ईश्वरका शत्रु’ भन्दै मृत्युदण्ड योग्य अपराधको अभियोग लगाएका छन् । यही अभियोग सन् १९८८ मा पनि प्रयोग गरिएको थियो, जसमा कम्तीमा पाँच हजार मानिस मारिएको बताइन्छ ।

यसैबिच, अमेरिकी सेनाले मध्यपूर्वतर्फ थप सैन्य सम्पत्ति सारिरहेको छ । यसमा विमानवाहक युएसएस अब्राहम लिङ्कन र यससँगै यात्रा गर्ने युद्धपोत समावेश छन् । नाम नछाप्ने सर्तमा एक अमेरिकी नौसेना अधिकारीले लिङ्कन स्ट्राइक समूह हाल हिन्द महासागर क्षेत्रमा रहेको जानकारी दिनु भएको छ ।

बिहीबार एयरफोर्स वनमा राष्ट्रपति ट्रम्पले ‘यदि इरानले कारबाही गर्न चाह्यो भने’ अमेरिका तयारी अवस्थामा रहेको भन्दै “हामीसँग त्यस दिशामा विशाल फ्लीट छ, सायद प्रयोग नै गर्न नपर्ला” भन्नुभयो । राष्ट्रपति ट्रम्पले यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी र इरानी अधिकारीबिच धेरै चरणमा वार्ता भएको स्मरण गराउँदै सम्झौता नभए सैन्य कारबाहीको चेतावनी पनि दोहोर्याउनु भएको छ । “हामीले प्रहार गर्नुअघि उनीहरूले सम्झौता गर्नुपर्ने थियो”, उहाँले जोड दिनुभयो । रासस/एपी