• ९ माघ २०८२, शुक्रबार

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

blog

बागलुङ क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ । तस्बिर : नवराज नेपाली ।

नवराज नेपाली
बागलुङ (गलकोट) माघ ९ गते ।
बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशिल रहेको पाइएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका आधारमा ५५ मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।

बागलुङमा कायम भएका १०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशिल र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । बागलुङमा आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ ।

जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइने गरेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको उहाँले बताउनुभयो “हामीले मतदानस्थलको अनुगमनपछि सुरक्षा योजना बनाएर निर्वाचन आयोग तथा सुरक्षा निकायमा पठाएका छौँ, सोहीअनुसारको तयारी भइरहेको छ” प्रजिअ आचार्यले भन्नुभयो “अति संवेदनशील र संवेदनशील केन्द्रमा थप सुरक्षा र अन्य रणनीति अपनाउछौं ।”

भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको आचार्यको भनाइ छ । निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेको उहाँको भनाइ छ ।

निर्वाचनमा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनाले सुरक्षा दिने तयारी भइरहेको छ । यातायातका साधनको सरल पहुँच नभएको मतदान स्थलमा वैकल्पिक सुरक्षा व्यवस्था, यातयातको साधन लगायको व्यवस्था समेतमा थप ध्यान दिने गरेको उहाँको भनाइ छ । यस पटकको निर्वाचनमा एक मतदानस्थल थप तथा  र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ ।  

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।