• ९ माघ २०८२, शुक्रबार

मकवानपुरका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने

blog

निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ ९ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ । आयोगले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले खर्च गर्नुपर्ने उल्लेख छ ।

मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र पाँच जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।

मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार ८९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३७६, पुरुष एकलाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् ।  १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् ।