• ९ माघ २०८२, शुक्रबार

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

blog

खजुरा (बाँके),  माघ ९ गते ।  जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । 

आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताउनुभयो । 

“बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उहाँले भन्नुभयो । 

यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । 

त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे जानकारी दिनुभएको थियो ।  

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आफ्नै वडामा १६ औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान चलाउनुपरेकोमा दुःख व्यक्त गर्दै अब फेरि अर्को अभियान सञ्चालन गर्नुपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानलाई सफल बनाउन आफू जुनसुकै समयमा परिचालित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिममा रहेको जनाइएको छ ।

अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ६९ हजार ३३९ गरी कुल तीन लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य छ । अभियान सञ्चालनका लागि रु. ४३ लाख बजेट विनियोजन गरिएको छ । रासस