• ९ माघ २०८२, शुक्रबार

बर्सेनि सार्वजनिक विकासका लागि स्थानीयद्वारा जनश्रमदान

blog

स्याँडा गाउँका युवा–युवती जनश्रमदानमा संलग्न हुँदै। तस्बिर : राजन रावत

हुम्ला, माघ ९ गते । जिल्लाकै घना बस्तीका रूपमा परिचित सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँका स्थानीयवासीले बर्सेनि जनश्रमदानमार्फत विकास निर्माणका काम गर्दै आएका छन् । विकासका मागहरू सहज रूपमा सम्बन्धित निकायसम्म नपुगेपछि गाउँवासीको सामूहिक निर्णयमा आवश्यक विकास कार्यहरू जनश्रमदानबाटै गर्ने गरिएको हो ।

उक्त वडाका वडा अध्यक्ष कमल बुढाका अनुसार गाउँमा आवश्यक पर्ने विकास निर्माणका कामहरू वर्षेनी स्थानीयको सक्रिय सहभागितामा जनश्रमदानबाट हुँदै आएका छन् । पछिल्लो समय गाउँबाट करिब एक घण्टा टाढा रहेको थर्पु मन्दिर (माडु) को संरक्षणका लागि घेरबार निर्माण गरिएको छ । मन्दिर परिसरमा तीन मिटर उचाइ र ३९५ मिटर लम्बाइको ढुङ्गाको गाह्रो लगाएर घेराबार गरिएको हो ।

यस कार्यमा स्याँडा गाउँका ४० जना युवा–युवतीले तीन दिनसम्म जनश्रमदान गरेका थिए । छ वटा टोलका स्थानीयको सहभागितामा सम्पन्न उक्त कामको लागत करिब आठ लाख रुपियाँ बराबरको रहेको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । साथै, गाउँमै रहेको अर्को गुम्बाको निर्माण कार्य पनि स्थानीय जनश्रमदानबाटै भइरहेको उहाँले बताउनुभयो ।

यस वर्ष मात्र होइन, गत वर्ष वर्षाका कारण भत्किएको घोरेटो बाटो र विद्युत् पावरहाउसको मर्मतसम्भार पनि स्थानीयले जनश्रमदानमार्फत गरी विद्युत् सेवा पुनः सुचारु गरेका थिए । त्यसअघि जीर्ण भइसकेका विद्युतका पोलहरू हटाई नयाँ पोल गाड्ने कामसमेत जनश्रमदानबाट सम्पन्न गरिएको थियो ।

वर्षेनी यसरी गाउँका समस्याहरू समाधानका लागि गाउँवासी स्वयं जुट्ने गरेको भन्दै वडा अध्यक्ष बुढाले हालसम्म करिब तीन दर्जन विकास कार्य जनश्रमदानबाट सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले यसमा सहयोग गर्ने सम्पूर्ण गाउँवासीलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

स्थानीय पूर्णसिंह बुढाका अनुसार विकास निकायमा सहज पहुँच नहुँदा गाउँको सामूहिक निर्णयबाट दश लाख रुपियाँभन्दा कम लागतका अत्यावश्यक कामहरू जनश्रमदानबाटै गर्ने गरिएको छ । जनश्रमदानका कामहरू विगतदेखि हुँदै आएको, हाल पनि जारी रहेको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । यसले साना समस्याका लागि सिधै विकास माग्न जाने प्रवृत्ति पनि घटेको उहाँको भनाइ छ ।