• ९ माघ २०८२, शुक्रबार

वसन्त पञ्चमीले प्रकृतिमा नयाँ ऊर्जा ल्याउछः प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा

अनिल पराजुली    
हेटौँडा, माघ ९ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले वसन्त पञ्चमीले प्रकृतिमा नयाँ ऊर्जा, आशा र उल्लास ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८२ का अवसरमा शुभकामना दिँदै उहाँले शिक्षा, कला, साहित्य, संगीत र सृजनशीलताको प्रतीक देवी सरस्वतीको कृपाले सतबुद्धि, विवेक र नैतिकताको विकास हुने उल्लेख गर्नुभयो ।

“यस पर्वले शिक्षा, संस्कार र सृजनात्मक सोचलाई थप सुदृढ बनाउँदै समाजलाई समुन्नत र सभ्य बनाउने प्रेरणा प्रदान गरोस्,” उहाँले भन्नुभयो, “यस पावन अवसरमा प्रदेशवासी सबैको जीवनमा शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।”

सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मान्ने परम्परा रहेको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले सरस्वती प्रकाशोत्सवले सभ्यतामा शिक्षा र कलाको महत्त्व प्रष्ट पार्ने भन्दै मातृशक्ति ज्ञान निर्माणको आधार भएको पक्ष पनि उजागर गर्ने बताउनुभयो ।

उहाँका अनुसार प्रकाशबाट विविध रङ्ग उत्पन्न हुन्छन् र रङ्गबाट कलाका विभिन्न आयाम विकसित हुन्छन् । सरस्वतीको हातमा रहेको वीणालाई नाद अर्थात् ध्वनीको रचना गर्ने यन्त्र मानिने र पुस्तकलाई अक्षरको स्रोतको रूपमा हेरिने वैदिक मान्यता रहेको उहाँले बताउनुभयो ।

वसन्त पञ्चमीका दिन बालबालिकालाई अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला–सङ्गीतका साधकहरूले आफ्ना कुची तथा वाद्ययन्त्रहरूको पूजा गर्ने परम्परा पनि विकास भएको उहाँले बताउनुभयो । यस दिन विवाह, व्रतबन्धजस्ता शुभ कार्यका लागि साइत जुराउने चलन समेत रहेको उहाँले उल्लेख गर्नुभयो ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा हिन्दू वैदिक परम्परा अनुसार ज्ञान, बुद्धि र कलाको देवी सरस्वतीको आविर्भाव दिवसका रूपमा मनाइन्छ । आज शिक्षक संस्थाहरू तथा सरस्वतीका उपासकहरूले नृत्य–संगीत कार्यक्रम आयोजना गर्दै किताब, कपी, कलम तथा वाद्य उपकरणहरूको पूजा–अर्चना गरेका छन् ।