• ९ माघ २०८२, शुक्रबार

दल बदल्दै चुनावी मैदानमा

blog

भैरहवा समाचारदाता

भैरहवा, माघ ९ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ ।  टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद प्रमोद यादव रुपन्देही क्षेत्र नं. ४ बाट टिकट पाउने अपेक्षामा हुनुहुन्थ्यो तर पार्टीले आशुतोष मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेपछि यादवले तत्काल नेकपा (एमाले) सँग संवाद गर्नुभयो । सोही क्रममा एमालेले अघि सारेकी सुनिता ठटेरको उम्मेदवारी फिर्ता लिएर यादवलाई टिकट दिएको छ । २०७४ मा कांग्रेसबाट निर्वाचित र २०७९ मा पराजित यादव यसरी पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने पछिल्लो उदाहरण हुनुहुन्छ ।

पूर्वमन्त्री मोहम्मद इस्तियाक राई उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ गतेसम्म जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव हुनुहुन्थ्यो । सोही दिन एमाले प्रवेश गर्नुभएका उहाँ बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । मधेशकेन्द्रित राजनीतिमा पहिचान बनाउनुभएका राई तीन दशक लामो राजनीतिक यात्रामा राप्रपा, मधेशी जनअधिकार फोरम हुँदै हाल एमालेमा पुग्नुभएको छ ।

कपिलवस्तु क्षेत्र नं. ३ मा कांग्रेसबाट एकल सिफारिसमा पर्नुभएका वीरेन्द्र कनोडियाले टिकट पाउने सम्भावना कमजोर भएपछि एमाले प्रवेश गर्नुभयो । उहाँ माघ १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेश गरी माघ ६ गते कपिलवस्तु क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभयो । कनोडिया २०७४ मा कांग्रेसबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । दल परिवर्तनको क्रम प्रदेश सभासम्म फैलिएको छ । बर्दियाबाट नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँ हाल उक्त पार्टीका महासचिवसमेत हुनुहुन्छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट बाँके क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके क्षेत्र नं. १ मा उम्मेदवारी दिनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका रुपन्देही क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य कन्हैया बानियाँले पनि प्रदेश सभा पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले पार्टी छाडेर नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्र नं. १ बाट रास्वपाबाट उम्मेदवारी दिनुभएको छ । उहाँ अघिल्लो निर्वाचनमा पार्टी कारबाहीमा पर्नुभएको थियो । हृदयेश त्रिपाठी जसपाबाट उम्मेदवार बन्नुभएको छ भने कपिलवस्तु क्षेत्र नं. ४ का पूर्वसांसद बृजेशकुमार गुप्ताले एमालेबाट टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिनुभएको छ । पूर्वएसएसपी विक्रमसिंह थापा कांग्रेस छाडेर रास्वपाबाट कपिलवस्तु क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएको छ ।