सिँजा समाचारदाता
सिँजा (जुम्ला), माघ ९ गते । चुनाव आउन ४२ दिन बाँकी रहेको अवस्थामा चुनावी चहलपहल तीव्र भएको छ । उम्मेदवार आआफ्ना प्रचारप्रसारमा जोड दिँदै मतदाताका घर घर जान थालेका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी माहोल तात्तिँदै गएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपबहादुर शाही, नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विर्ष रावत, नेकपा (माओवादी) बाट विर्षबहादुर शाही (प्रभाजित) तथा नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही चुनावी मैदानमा सक्रिय रूपमा खटिनुभएको छ ।
उम्मेदवार बिहानदेखि साँझसम्म टोल टोल र गाउँ गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादका साथै आफ्ना पक्षमा भोट मागिरहेका छन् । स्थानीय समस्या, विकासका आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक तथा कृषि क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै उम्मेदवारले आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । चुनावी सभा, कोण सभा, भेटघाट कार्यक्रम र घरदैलो अभियानमार्फत मतदाताको मन जित्ने प्रयास भइरहेको छ ।
स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले दलभन्दा माथि उठेर जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको बताउनुभयो । राजनीतिक दलले सङ्गठनलाई सक्रिय बनाउँदै चुनावी रणनीति तय गरेका छन् । नेकपा (एमाले) जुम्लाले देवीलाल थापाको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले चुनावी प्रचार, जनसम्पर्क, व्यवस्थापन तथा मतदाता परिचालनको जिम्मेवारी समाल्ने बताइएको छ । एमालेले जिल्लाभर प्रभावकारी रूपमा अभियान सञ्चालन गरी निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीति बनाइसकेको जनाएको छ । अन्य दलले पनि आआफ्ना प्रचार संयन्त्र परिचालन गर्दै चुनावी गतिविधि तीव्र बनाएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारबिच प्रतिस्पर्धा बढ्दै गएको छ भने मतदाता पनि उम्मेदवारका एजेन्डा, विगतको काम र भविष्यका योजनाबारे चासोका साथ बुझ्न थालेका छन् ।
गाउँबस्तीमा चुनावको चहलपहल
खलङ्गा समाचारदाताका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दर्तापछि जाजरकोटमा चुनावी चहलपहल बढेको छ ।
मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीसहित ११ दलका नेता चुनावी रणनीति निर्माणसँगै चुनावी अभियानको कार्यतालिका बनाउन थालेका छन् । नेकपा (एमाले) कार्यवाहक अध्यक्ष विश्वविक्रम शाहले उम्मेदवारसहित नेता कार्यकर्ता गाउँ अभियानमा जुटेको बताउनुभयो । २०६४ सालदेखिका चुनावमा हार बेहोर्दै आएको एमाले यतिबेलाको चुनाव आफ्नो पल्ला भारी पार्ने योजनासहित जनताका घरदैलो पुगेको उहाँको भनाइ छ ।
यस्तै नेपाली कांग्रेसका सचिव तेजविक्रम शाहले मनोनयन दर्तापछि चुनावी रणनीति बनाउन थालेको बताउनुभयो । २०७४ सालमा नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) गठबन्धनमा चुनाव लडेको थियो । नेपाली कम्युनिस्ट पार्टीबाट पटक पटक निर्वाचित भएका शक्तिबहादुर बस्नेत, नेकपा (एमाले) का पुराना नेता डम्बरबहादुर सिंहसँग नेपाली कांग्रेसका युवा नेता खडकबहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसबाट बुढा एकल उम्मेदवार भएकाले यतिबेलाको निर्वाचन कांग्रेसको पक्षमै हुने दाबी उहाँले गर्नुभयो ।
भूकम्पबाट घरबारविहीन भई अस्थायी आवासमा बसेका जनता घर बनाउन पहल नगरेका कारण भोट बहिष्कार गर्ने बताउँदै आएका छन् । जाजरकोटमा एक लाख सात हजारभन्दा बढी मतदाता रहेका छन् ।