• ९ माघ २०८२, शुक्रबार

भयमुक्त रूपमा चुनाव गराउन सामूहिक प्रतिबद्धता

blog

सामूहिक प्रतिबद्धता जनाउँदै बाजुराका उम्मेदवार । तस्बिर : रामबहादुर विक

रामबहादुर विक 

मार्तडी (बाजुरा), माघ ९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बाजुरामा २०४८ सालदेखिका हरेक राष्ट्रिय र स्थानीय चुनावमा झडप हुँदै आएका छन् । यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ । निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन् ।

जिल्ला सदरमुकाम मार्तडीमा आयोजित संयुक्त पत्रकार सम्मेलन तथा प्रतिबद्धता कार्यक्रममा सहभागी उम्मेदवारले लोकतन्त्रको मूल आधार नै स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै मतदातालाई आफ्नो मत प्रयोग गर्ने पूर्ण अधिकार सुरक्षित गरिने बताए । विगतमा मतदातामाथि दबाब, प्रभाव र एमाले तथा कांग्रेसका कार्यकर्ताको मृत्यु भएका घटनाबाट पाठ सिक्दै यस पटक सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले बताउनुभयो । “हामी प्रतिस्पर्धी हौँ, शत्रु होइनौँ,” उहाँले भन्नुभयो, “राजनीतिक विचार फरक हुन सक्छन् तर मतदाताको अधिकारमाथि हस्तक्षेप गर्नु लोकतन्त्रविरुद्धको कार्य हो; जुन हामी स्विकार्दैनौँ ।”

उम्मेदवारहरूले निर्वाचन प्रचारका क्रममा गालीगलौज, चरित्र हत्या, झुटा आरोप, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिसमेत नगर्ने प्रतिबद्धता जनाए । “यस्तो सामूहिक प्रतिबद्धता निर्वाचनलाई विश्वसनीय र उदाहरणीय बनाउने सकारात्मक सन्देश हो,” एमालेका उम्मेदवार लालबहादुर थापाले बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी बाजुराका उम्मेदवार प्रकाशबहादुर शाहले सम्पूर्ण मतदातालाई कसैको दबाब वा प्रभावमा नपरी आफ्नो विवेक र चाहना अनुसार निडर भई मतदान गर्न आग्रह गर्नुभयो ।