• ९ माघ २०८२, शुक्रबार

सरस्वती पूजाको अवसरमा पुस्तक प्रदर्शनी

blog

राजविराज नगरपालिकाले सरस्वती पूजाको अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनी । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), माघ ९ गते ।
पुस्तक पढ्ने बानी बसाल्नका लागि राजविराज नगरपालिकाले सरस्वती पूजाको अवसरमा राजविराजस्थित रहेको साझा प्रकाशनमा विद्यार्थीहरूका लागि एक दिने पुस्तक प्रदर्शनी गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले पठनपाठन गर्ने बानीको लोप हुँदै गएकाले बिहीबार पुस्तक प्रदर्शनीको आयोजना गरेको बताउनुभयो ।

प्रविधिको विकाससँगै किताब अध्ययन गर्ने बानीको निरन्तरता दिन आवश्यक छ । पढ्ने बानीले विद्यार्थीलाई सिकाइसँगै आनन्द दिने उहाँले बताउनुभयो ।

एउटा पालिकामा एउटा पुस्तकालय अनिवार्य हुनुपर्ने आवश्यक भएकाले आफ्नो पालिकामा यसै वर्षको लोकनाथ पुस्तकालय पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले विद्यार्थीको शैक्षिक गुणस्तरीयताका लागि नियमित पठनपाठन एकदमै आवश्यक भएकाले नियमित पठनपाठन गर्न र पुस्तककालयको महत्त्व बुझ्नका लागि यो पुस्तक प्रदर्शनी अति फलदायी भएको बताउनुभयो ।

पुस्तक प्रदर्शनीमा नगर शिक्षा समितिका सदस्य एवम् पूर्व शिक्षक देवेन्द्र मिश्रले डिजिटल युगमा पुस्तक पढ्ने बानी हराउदै गरेको बेला यो कार्यक्रम उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जतिसुकै डिजिटल युग आए पनि किताब पढ्नुको मजा र उपयोगी छुट्टै हुन्छ ।’’

कार्यक्रममा साझा प्रकाशनका प्रबन्धक मनोज कुमार माझी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देव, राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष वडा अध्यक्ष सुभास चन्द्र यादव,सामाजिक अभियन्ता सुरेश मुखिया लगायतले पुस्तकालय र पुस्तक पढ्ने बानीको महत्त्वको विषयमा चर्चा गर्नुभएको थियो ।

पुस्तक प्रदर्शनीमा राजविराज नगरपालिकाका सामुदायिक विद्यालयहरू जनता आधारभूत विद्यालय मुसहरनिया, राजदेवी माध्यमिक विद्यालय, केशो अनिरूद्धवति माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय लगायत  करिब एक दर्जन विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका थिए । विद्यार्थीलाई चाहिने आवश्यक किताबहरू नगरपालिकाले खरिद गरेर वितरण समेत गरेको छ ।