राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा क्रियाशिल दलहरुले आन्तरिक तयारी सुरु गरेका छन् । उमेदवारको मनोनयन दर्ता गरेसँगै दलहरुले मतदाता केन्द्रित अभियान चलाउन सुरु गरेका हुन् ।
यसैबीच, नेकपा (एमाले) स्याङ्जाले आगामी निर्वाचनका लागि परिचालन कमिटी बनाएको छ । बिहीबार बसेको पार्टी जिल्ला कमिटिको बैठक तथा अभिमूखिकरण कार्यक्रमले पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) को संयोजकत्वमा १५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
परिचालन कमिटीमा जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटीका, पालिका कमिटी, जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्लाका पदाधिकारी र वडा कमिटीका सबै पदाधिकारी रहने जनाइएको छ ।
साथै, बिहीबारको बैठकले पार्टीकी केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति र प्रदेश कमिटी सचिवालय सदस्य सुधिर पौडेलको नेतृत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बिहीबारकै बैठकले खड्कराज सुवेदीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि समन्वय समिति पनि गठन गरेको छ ।
बिहीबार सम्पन्न पार्टीको बैठक तथा अभिमूखिकरण कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मिनप्रसाद गुरुङ, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार खिमबहादुर थापा,सुधिर पौडेल, रामबहादुर थापा, नारायण मरासिनी, सिता सुन्दास, सिमा क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।