रामकृष्ण बोहरा
बागलुङ, माघ ९ गते । जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम पात्लेखेत गाउँका कृष्णबहादुर र खिमबहादुर पुन दाजुभाईले सुन्तला बिक्री गरेर यसवर्ष ६ लाख रुपियाँभन्दा बढी रकम गाउँ भित्र्याउन सफल हुनुभएको छ ।
गतवर्ष साढे पाँच लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएका पुन दाजुभाईले यसवर्ष सुन्तला उत्पादन राम्रो हुँदा आम्दानी बढेको बताउनुभयो । गतवर्ष कृष्णबहादुरले चार लाख र खिमबहादुरले डेढ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएको थियो । ‘‘पहिलो गाउँबाटै सुन्तला बिक्री हुन्थ्यो, अहिले व्यापारी बगानमै आएर सुन्तला खरिद गर्न थालेपछि बजारको खोजीमा भौतारिनुपर्ने अवस्था छैन’’ कृष्णबहादुर भन्नुभयो ।
परम्परागत धानबाली मासेर सुन्तला खेती गर्दा मनग्य आम्दानी हुन थालेको कृष्णबहादुर बताउनुभयो । सुन्तलाका लागि आवश्यक सिँचाइका लागि पात्लेखेतमा प्रशस्त पानीको श्रोत रहेको उहाँको भनाइ छ । ‘‘सिँचाइको अभाव छैन, सुन्तलामा देखिने रोग किराको सङ्क्रमण रोक्न सरकारले साथ दिए सुन्तला खेतीमा कृषकको आकर्षण बढ्नुका साथै आर्थिक समृद्विको लक्ष्य पूरा गर्न सकिन्छ ।’’
सुन्तलाको प्याकेजिङ, बजारीकरण र औषधी उपचारमा सरकारले सघाउनुपर्ने उहाँहरुको माग छ । पात्लेखेतमा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले काठमाडौँ र पोखरा लगायतका शहरमा प्रतिकिलो एक सय रुपियाँभन्दा धेरै मूल्यमा बिक्री हुने गरेको खिमबहादुरले बताउनुभयो । पुन दाजुभाईले उत्पादन गरेको सुन्तला छिमेकी वडा बिहुँस्थित साना किसान सहकारीले खरिद गरेको छ ।
सहकारीमार्फत बजार पुर्याउन बिवाइसी बागलुङ र काठेखोला गाउँपालिकाले सहयोग गरेका छन् । थोरै लगानी, कम मेहनतमा वर्षेनि मनग्य आम्दानी गर्न पात्लेखेतमा सुन्तला बगैंचा विस्तार गर्नुपर्ने किसानलाई उहाँहरुको सुझाव छ । काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँ सुन्तलाको पकेट क्षेत्र हो । बिहुँका किसानले सुन्तलाबाट गरेको प्रगति देखेपछि पुन दाजुभाई पात्लेखेतमा सुन्तला खेती गर्नुभएको हो ।
१३ वर्षअघि सुन्तला खेती सुरु गर्नुभएका पुन दाजुभाईले गतवर्षदेखि आम्दानी लिन थाल्नुभएको हो । ‘‘पात्लेखेतको धान फल्ने खेत मासेर सुन्तला खेती सुरु गर्दा गाउँमा विकृति भित्र्यो भन्ने आरोप लगाए । अहिले सुन्तला खेतीबाट हुने आम्दानी देखेर गाउँले छक्क पर्छन्’’ पुनले विगत सम्झदै भन्नुभयो ।
२०७३ सालमा बिहुँमा तत्कालीन कृषि विकास कार्यालयले दिएको तालिम लिएपछि सुन्तला खेतीप्रति आकर्षण जागेको कृष्णबहादुरले बताउनुभयो । पुनले १५ मुरी धान फल्ने झण्डै ९ रोपनी खेतमा कृषिले दिएका केही बिरुवाबाट सुन्तला खेतीको थालनी गर्नुभएको थियो । ‘‘दुई वर्ष बिरुवाले उत्पादन नदिँदा घर चलाउन कठिन भएपनि तेस्रो वर्षबाट सुन्तला फल्न थालेपछि निकै सजिलो भएको छ’’ पुनले भन्नुभयो ।