अविनाश चौधरी
धनगढी, माघ ८ गते। ठुला राजनीतिक दलहरुले आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार नबनाएपछि रानाथारु समुदाय राजनीतिक दलसँग आपत्ति जनाएको छ।
प्रतिनिधि सभामा आफ्नो समुदायका व्यक्तिको प्रतिनिधित्व नै नहुनेप्रति चिन्ता व्यक्त गर्दै रानाथारु समुदायले आपत्ति जनाएको हो। आफ्नो समुदायलाई दलहरुले भोट बैंकको रुपमामात्रै प्रयोग गर्न खोजेको रानाथारु अगुवाको गुनासो छ।
सुदूरपश्चिम प्रदेशमामात्रै बसोबास रहेको यो समुदायका व्यक्तिलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका ठुला दलले उम्मेदवार बनाएका छैनन्।
कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायकै थातथलोमा यो समुदायबाट उम्मेदवार नबनाइएपछि कैलाली क्षेत्र नम्बर ५ मा प्यारेलाल रानाथारुले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। विभिन्न ठाउँमा निर्णायक भोट रहेको रानाथारु समुदायलाई दलहरुले विगतदेखि नै उपेक्षा गर्दै आएको रानाथारु अगुवा नारायण रानाले बताउनुभयो।
उहाँले दलहरुले उम्मेदवार नै नबनाएपछि आफ्नो समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व हुने सम्भावना निकै न्यून रहेको उल्लेख गर्नुभयो।
“कञ्चनपुरमा साना दलले दुई जनालाई उम्मेदवार त बनाएका छन्”, रानाले भन्नुभयो,“अब उहाँहरुकै जित होस भन्ने अपेक्षा छ। ”
कञ्चनपुर क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट प्रेमवति रानाथारु र १ मा नेकपा (माओवादी) बाट पुरन रानाथारुले उम्मेदवारी दर्ता गराउनु भएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा निर्णायक भोट रहेको रानाथारु समुदायबाट २०७४ र २०७९ को निर्वाचनमा नेकपा (एमाले) ले नारदमुनि रानालाई अवसर दिएको थियो।
२०७४ को निर्वाचनमा रानाले नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो भने २०७९ को आम निर्वाचनमा कांग्रेसकै उम्मेदवार डिल्लीराज पन्तसंग पराजित हुनुभएको थियो।