देवराम यादव
सप्तरी, माघ ८ गते । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।
सप्तरीका चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार २० महिलासहित १०५ जनाको मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि बसधबार चारै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध तथा उजुरी दर्ता गर्न सकिने समय तोकेको थियो ।
निर्धारित समयभित्र कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध दाबी–विरोध, उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत किशोर धिमिरेले जानकारी दिनुभयो ।
दाबी–विरोध नपरेकाले अब पूर्व निर्धारित निर्वाचन तालिकाअनुसार बाँकी प्रक्रिया अघि बढाइने भएको छ । मुख्य निर्वाचन अधिकृत धिमिरेका अनुसार मनोनयनपत्रमाथि जाँचबुझ गरी ८ गते बिहीबार उम्मेदवारको नामावली प्रकाशित गरिने छ ।
त्यसपछि ९ गते शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली तथा निर्वाचन चिन्ह प्रकाशित गरिने उहाँले बताउनुभयो । दाबी–विरोध नपरेको अवस्थामा बाँकी सबै कामहरू निर्धारित कार्यक्रमअनुसार अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।