मजस्ता धेरै स्वतः प्रजातन्त्रप्रति जिज्ञासु र समर्पण भाव भएका युवामा प्रजातन्त्रप्रतिको समर्पणलाई ऊर्जा थपेर २०३० र ४० को दशकका बेलाको सबैभन्दा जोखिमपूर्ण कर्म पत्रकारितामार्फत समाज रूपान्तरणका लागि उत्प्रेरित गर्ने आदरणीय व्यक्तित्व जो आफैँ जीवनभर मात्र समाज रूपान्तरणमा मात्र लाग्नु भयो होमनाथ दाहाल जसलाई हामी युवा होमनाथ दाइ भन्ने गथ्र्यौं । उहाँको चट्टानी अडान भनेको प्रजातन्त्रको पुनस्र्थापना मात्र रह्यो पञ्चायतकालभरि ।
चाहे पत्रकारितामार्फत होस् या संसदीय फाँटमा उदाहरणीय सांसदका रूपमा होस्, उहाँको अभीष्टता मात्र प्रजातन्त्रको सुदृढीकरण र त्यसको फल आमनागरिकले पाउनै पर्छ अनि मात्र प्रजातन्त्र जनताको तन्त्र हुन्छ भन्ने धारणा व्यक्त गर्नुहुन्थ्यो । अब होमनाथ दाइ स्मृतिमा मात्र रहनु हुने भयो हाम्रो । उहाँको दीक्षाबाट दीक्षित भएका म जस्ता धेरै पत्रकारको अभीष्टता मात्र प्रजातन्त्रको पक्षमात्र रह्यो, रहिरहने छ । दाइलाई स्वर्गीय भन्ने लेख्न यी औँला मानिरहेका छैनन् र पनि कठोर सत्य के हो भने अब दाइ हामीसँग हुनुहुन्न । हामीले पुस २६ गते आर्यघाटमा लगेर शून्यमा समाहित गरेर आएका छाैँ भौतिक रूपमा । जाँदासँगै गयौँ तर आउँदा लिएर आउन सकेनौँ किनभने जीवनको सत्य नै प्रकृतिस्थ हुनुमा रहेछ तर हामीमा उहाँले जगाएको प्रजातन्त्रप्रतिको क्षुधा कहिल्यै शान्त हुने छैन । अभिव्यक्ति स्वतन्त्रता, सुशासन, व्यक्तिगत तथा सामूहिक मानव अधिकार, सामाजिक न्याय, समावेशिता, सहभागिता, सहिष्णुता र सामाजिक समन्वयको मूल जरो भनेको जनताको सहभागिताको प्रजातन्त्रमा मात्र अडिएको हुन्छ र त्यो प्रजातन्त्रबिनाको समृद्धिसमेत फिका फिका हुन्छ भन्ने अभिव्यक्ति बारम्बार दिइरहने होमनाथ दाइले कहिल्यै पनि यी मूल्यमा कसैसँग सम्झौता गर्नुभएन । जीवनको उत्तराद्र्धसम्ममा पनि उहाँका अभिव्यक्तिले यिनै प्रजातान्त्रिक आदर्शको वकालत गरिरहेका हुन्थे ।
उहाँको परिचय नै वरिष्ठ पत्रकार होमनाथ दाहाल रह्यो । उहाँको जन्म १९९८ साल कात्तिक २५ गते रामपुर, ओखलढुङ्गामा भएको थियो भने उहाँको निधन २०८२ साल पुस २५ गते मैतीदेवी, काठमाडौँमा भयो । उहाँका पिता जीवनाथ दाहाल तथा माता नीलकुमारी दाहाल हुनुहुन्थ्यो । उहाँको सामाजिक परिचय नै प्रजातन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा सामाजिक न्यायप्रति सदैव समर्पित एक अथक योद्धाको रूपमा नेपाली समाजमा रहन गएको छ । उहाँ हामी सबैका आदर्श र आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक रूपमा नेपाली कांग्रेसको सक्रिय सदस्य हुँदाहुँदै पनि पत्रकारितामा सदैव प्रजातन्त्रका पक्षका सतीसाल झैँ डटिरहनु भयो जबकि उहाँले पत्रकारिता सुरु गर्दा प्रजातन्त्रको पर्यायको रूपमा लिइने राजनीतिक दल नेपाली कांग्रेस प्रतिबन्धित थियो र पनि ।
प्रजातन्त्र पुनस्र्थापनाका लागि सदैव समर्पित व्यक्तित्व होमनाथ दाइले पत्रकारहरूको एक मात्र साझा संस्थाले नेपाल पत्रकार सङ्घलाई सबै पत्रकारसँगको समन्वयमा जुन बाटो देखाउनुभयो, पत्रकारिताको मूलबाटोबाट भट्किएर सत्ताको ताबेदारी गर्न तम्सने पत्रकारको एउटा जमातबाट खोसेर आमपत्रकारको साझा संस्था बनाउन जुन भूमिका निर्वाह गर्नुभयो, त्यसैका कारणले आज पनि त्यो संस्था गरिमामय नेपाल पत्रकार महासङ्घको रूपमा नेपाली समाजमा अगुवा नागरिक समाजको रूपमा विद्यमान छ । एउटा सशक्त दल नेपाली कांग्रेसको नेता भएर पनि अन्य दलसँग समन्वय गरेर नेपाल पत्रकार सङ्घलाई तटस्थ नागरिक समाजको रूपमा विकास गर्नु सामान्य विशेषता थिएन, जुन पूरा गरेर उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो र सांसद, मन्त्रीसमेत हुनुभयो । उहाँको परिचयमा वरिष्ठ पत्रकार नै रह्यो, रहिरहने छ किनभने उहाँले जीवनको मूलध्येय शब्दमार्फत, पत्रिकामार्फत, प्रजातन्त्र पुनस्र्थापना, त्यसको सबलीकरण र सुदृढीकरणमा आफूलाई समर्पित गर्नुभयो । समाज रूपान्तरणका लागि पत्रकारिता नै मुख्य साधन हुनु पर्छ भन्ने मान्यता उहाँले राख्नुहुन्थ्यो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई मूर्त रूपमा साथ दिन २०२६ सालदेखि प्रत्येक हप्ता राष्ट्र पुकार साप्ताहिक पत्रिकाका अक्षर मार्फत आफूलाई समर्पित गर्नुभएका दाइले कहिल्यै पछाडि फर्कनु भएन । कसैसँग प्रजातन्त्रका विरुद्धमा सम्झौता गर्नुभएन । बिपीको नेपाल आगमनपश्चात् नेपालको राष्ट्रियता, प्रजातन्त्र एकअर्काका पूरक हुन् भन्ने बिपीको नीति र उहाँको राष्ट्रिय एकता तथा मेलमिलापको व्याख्याताको रूपमा आफूलाई पत्रिकामार्फत स्पष्ट पार्नुभयो । त्यसले गर्दा बिपीको अन्तरङ्ग शिष्यको रूपमा समेत रहनुभएको थियो । हामीले बिपीका सैद्धान्तिक पाटोका बारेमा सिक्ने व्यक्तित्वका रूपमा होमनाथ दाइलाई लिन्थ्यौँ र स्वयम् बिपीले होमनाथ दाइसँग यदि तिमीलाई यो समस्या आएको भए के गथ्र्यौं भनेर सोधेको पनि हामी सुन्थ्यौँ, देख्थ्यौँ । अर्थात् २०३३ साल पुस १६ गते बिपी, गणेशमानजी निसर्त नेपाल आगमनपश्चात् राष्ट्र पुकारले नै बिपीका विचारहरूको सम्प्रेपण, व्याख्या र बिपीको राष्ट्रियता, प्रजातन्त्रप्रतिका धारणालाई विभिन्न कोणबाट पुष्टि गर्ने गरी मिसन पत्रकारिताको जग बसाउनु भएको थियो । पत्रिका कति पटक प्रतिबन्धमा प¥यो होला, पत्रिकामा लेखेका कुराका आधारमा कति पटक जेल पर्नुभयो होला तर त्यो बेलाको सरकारसँग झुक्नु भएन । बरु कानुनी उपचार खोज्दै रहनु भएको थियो । म, कोषराज न्यौपानैजी, पुरुषोत्तम दाहालजीले दाइसँग जे सिक्यौँ, आज पनि हामी त्यही बाटोमा रहेका छौँ । पछि न्यौपानेजी सक्रिय लेखनमा रहे पनि पत्रकारितासँग त्यति रहनु भएन । पुरुषोत्तम दाहालजी प्राध्यापक भएर पनि आफ्ना खरा टिप्पणी र प्रजातन्त्रका पक्षमा अनवरत लेखेर आज नेपालको तर्कपूर्ण अनि खरो टिप्पणी गर्ने वरिष्ठ पत्रकारको रूपमा हामी पाउँछौँ । म पनि शिक्षण पेसासँग पत्रकारितालाई अनवरत पछ्याइरहेको छु ।
हामीलाई दाइले भन्नु भएको थियो–हेर भाइहरू, पत्रकारितामा निडर हुनु पर्छ, भयबाट मुक्ति लिनु पर्छ तर सत्य, निष्ठा र जनताका पक्षभन्दा यताउता जानु हुँदैन । राष्ट्र सबैभन्दा माथि हुन्छ, अनि राजनीतिले देशलाई डो¥याउने छ तर राजनीति शुद्ध भएन भने राज्य संयन्त्र दूषित हुन्छ, त्यसैले तिमीहरूले न्यायालय र सेनाका बारेमा आलोचनात्मक तरिकाले लेख्नु, निन्दा नगर्नू किनभने हाम्रो लागि मानव अधिकारको रक्षाका लागि अन्ततः न्यायालय मात्र सहारा हुने छ र मुलुकलाई अप्ठेरो परेमा सेनाले नै जोगाउने छ राज्यको अस्मिता । बाँकी कुरामा सत्यमा आधारित भएर सप्रमाण जे लेख्छौ, त्यसको म जिम्मा लिने छु । पञ्चायतकालमा पनि दाइले भन्नुहुन्थ्यो, प्रजातन्त्रबिना यो देश रहने छैन, त्यसैले प्रजातन्त्रको पुनस्र्थापनाका लागि लेखिरहने हो, लेखिरहने हो । प्रजातन्त्र पुनस्र्थापनापश्चात् लगत्तै गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी पनि समाल्नुभएको थियो । उहाँको त्यो जिम्मेवारी संस्थानमा कोसेढुङ्गाको रूपमा लिने गरिएको छ । उहाँले समाजिक क्षेत्र तथा राजनीतिक फाँटमा जेजे पद लिएको भए पनि उहाँको परिचय भनेको पत्रकार नै हो । प्रजातन्त्रका पक्षमा अनवरत लेखिरहने, लडिरहने र यो वृद्धावस्थामा पनि उहाँले हामीलाई प्रजातन्त्रका पक्षमा लेखिरहनका लागि उत्प्रेरित गरिरहनुहुन्थ्यो । उहाँले संसदभित्र पनि असल र अनुशासित सांसदको भूमिका निर्वाह गर्नुभयो र राज्य व्यवस्था समितिको सभापति हुँदा उदाहरणीय कामहरू गरेर पछिका सभापतिहरूलाई अमिट बाटो तयार गर्नुभएको थियो । छोटो समयका लागि कृषि तथा सहकारी मन्त्री हुँदा पनि उहाँले गर्नुभएको कार्य सम्पादनलाई कसैले औँलो ठड्याएन ।
एक वरिष्ठ पत्रकार, निश्छल, निष्कलङ्क, प्रजातन्त्रका अथक योद्धा र असल सांसदको रूपमा प्रस्तुत भएर एक आदर्श नागरिकको हैसियत बनाउन सफल दाइको देहावसानले नेपाली पत्रकारितामा अपूरणीय क्षति भएको छ । हामीले एक जना निडर, प्रजातन्त्रवादी पत्रकारका पनि पत्रकार गुरु गुमाएका छौँ । मैले आफ्नो पत्रकारिता, थाहै नपाई सुरु गरेको रहेछु २०३४ सालमा राष्ट्र पुकारको प्रतिबन्ध खुलेपछि । त्यसो त म त्यसअघि पनि पत्रिकामा जनकपुरमा लेख्थेँ तर अनवरत होइन । अहिले दाइको प्रेरणाले अझै लेखिरहने विचार छ किनभने समाजलाई आफ्ना धारणा दिने असल माध्यम भनेको नै पत्रकारिता रहेछ ।
श्रद्धेय होमनाथ दाइप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्छु । उहाँको आत्माले चिरशान्ति पाओस् । आदरणीय सुधा भाउजूलाई परेको यो बज्रपातमा उहाँमा यो सहने शक्ति प्राप्त होस् । उहाँ स्वयम् पनि अस्वस्थ हुनुहुन्छ । उहाँको स्वास्थ्यलाभको कामना गर्छु । दाइका छोराहरू, मेरा प्यारा भतिजा डाक्टर सुधांशु दाहाल र हिमांशु दाहाल र बुहारी, नाति नातिना र अन्य परिवारजनमा पनि यो पीडा सहने क्षमता प्राप्त होस् भन्ने समवेदना व्यक्त गर्दछु ।