• ८ माघ २०८२, बिहिबार

राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदानका लागि तयार

blog

काठमाडौँ, माघ ८ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिन लागेको १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदानमा प्रयोग हुने मतपत्र छापेर सम्बन्धित प्रदेशमा पठाइसकिएको र सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । सात वटै प्रदेशको राजधानीमा एकै दिन मतदान हुने छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट दुई/दुई तथा लुम्बिनीबाट तीन जना सदस्य निर्वाचित हुने छन् । कोशी प्रदेशले महिला, दलित र अन्य समूहबाट एक/एक गरी तीन जना निर्वाचित गर्ने छ । मधेशले महिला, दलित, अपाङ्गता वा अल्पसङ्ख्यक व्यक्ति र अन्यबाट एक/एक गरी चार जना निर्वाचित गर्ने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमले महिला र अन्य समूहबाट एक/एक गरी दुई/दुई जना निर्वाचित गर्ने छ । लुम्बिनीबाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट एक/एक गरी तीन जना सदस्य निर्वाचित हुने छन् । अर्को एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । 

आयोगका अनुसार १८ पदका लागि हुने निर्वाचनमा १८ प्रकारको मतपत्र छापिएका छन् । निर्वाचित हुने समूह अनुसार सबै पदका लागि अलग अलग मतपत्र छन् । उम्मेदवारको नामसहितको मतपत्र छापिएका छन् । सहायक प्रवक्ता न्यौपानेका अनुसार पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि तथा प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै रङको मतपत्र छापिएका छन् । 


पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो मतपत्र तथा प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो मतपत्र प्रयोग हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचनमण्डलले राष्ट्रिय सभा सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतदानलाई मतभारसँग गुणन गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुने छन् ।