• १८ असार २०८१, मङ्गलबार

लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ । 

अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालले बुधवार आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई अपाङ्गता भएका महिलामध्ये पनि दृष्टिविहीन, बहिरा, अटिजमलगायतका बहुअपाङ्गता भएका महिलाले यौन तथा घरेलु हिंसामा बढी परिरहेका छन् भन्दै ध्यानाकर्षण हस्तान्तरण गरिएको हो । 

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले नीति निर्माणका लागि दिने सुझाव र आयोगद्वारा गरिने सिफारिसहरूमा सबै वर्गमाथि हुने जुनसुकै हिंसाको अन्त्यका लागि जोड दिंदै आएको बताउनुभयो । साथै  अपाङ्गता भएका महिला तथा व्यक्तिका लागि काम गर्ने सङ्घ संस्थाको माग र सुझावलाई पनि सिफारिसहरूमा समावेश गर्दै आएको जानकारी दिनुभयो । 


अपाङ्गता भएका महिलाहरूको महासङ्घका अध्यक्ष निर्मला धितालले ध्यानाकर्षणपत्रको वाचन गर्दै हालै विश्व बैंकले गरेको अध्ययनअनुसार अन्यको तुलनामा अपाङ्गता  भएका महिलामाथि १० प्रतिशत बढी हिंसा भइरहेको तथ्य सार्वजनिक भएको बताउनुभयो । 

उहाँले भौतिक संरचना अपाङ्गतामैत्री नहुनु, हिंसासम्बन्धी मुद्दामा बन्द इजलास भनिए पनि गोपनीयता नहुनु, पीडितको पक्षमा फैसला भइहाले पनि  क्षतिपूर्ति दिलाउन समस्या हुने र अपाङ्गता भएका महिलामाथि यौन हिंसा भएमा उजुरीका लागि हदम्याद तोक्न नहुने ध्यानाकर्षणमा उल्लेख छ ।