• १३ साउन २०८१, आइतबार

बेंसीसहर पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा

blog

लमजुङको बेंसीसहर नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिँदै । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, असार २९ गते । लमजुङको बेंसीसहर नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरेकोे हो । 

पशु तथ्याङ्कको आधारमा ८६ प्रतिशत पशुमा पूर्ण खोप लगाइएकाले बेंसीसहरलाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । पूर्ण खोप पालिका कार्यान्वयन कार्यविधिअनुसार ८० प्रतिशतभन्दा माथि खोप कार्य सम्पन्न भएपछि त्यसलाई पूर्ण खोप पालिका स्थानीय तह घोषणा गर्ने नियमअनुसार बेंसीसहरलाई पूर्ण खोप पालिका घोषणा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । 

बेंसीसहर नगरपालिकाको पशु शाखाको समन्वयमा बेंसीसहरलाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बेंसीसहर बजारको प्रवेशद्वार मजुवाखोलामा ‘पशुमा पूर्ण खोपयुक्त पालिका बेंसीसहर’ होडिङ बोर्ड राखिएको छ । कार्यक्रममा सहभागी हुँदै बेंसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिका पशुमा पूर्ण खोपयुक्त पालिका भएको घोषणा गर्नुभयो । 

पशुमा लाग्ने संक्रामक रोग खोरेत, चरचरे, पीपीआर, भ्यागुते, रेबिज, स्वाइन फिवरविरुद्ध पशुमा पूर्णखोप लगाइएको अर्यालले बताउनुभयो । सङ्क्रामक रोगका कारण पशुवस्तुमा हुने ठूलो क्षति कम गराउन र पशुपालक किसानलाई ठूलो क्षति हुनबाट जोगाउन बेंसीसहरमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको थियो । लमजुङमा विगत २ वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । 

पशु तथ्याङ्कका आधारमा चालु आर्थिक वर्षमा बेंसीसहरका ३९ हजार ८ सय १४ अर्थात ८६ प्रतिशत पशुमा खोप लगाइएको श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्ष २०७८–७९ मा बेंसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ । 

चालु आर्थिक वर्षमा सुन्दरबजार र मध्यनेपाल नगरपालिकालाई पनि पूर्ण खोपयुक्त पालिका घोषणा गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार मध्यनेपाल नगरपालिकामा ३७ हजार ५ सय २६ डोज अर्थात ८८ प्रतिशत खोप लगाइएको छ । सुन्दरबजार नगरपालिकामा २६ हजार ९ सय ९९ सय अर्थात ८६ प्रतिशत खोप लगाइएको उहाँले बताउनुभयो ।

सङ्क्रामक रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि लमजुङमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको छ । विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाउने गरिएको छ । महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको छ ।