• १२ असोज २०८१, शनिबार

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

blog

काठमाडौँ, असार २९ गते । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”

यसअघि सोमबार उदयपुरमा त सामुदायिक विद्यालयका विद्यार्थीले जुलुसले नै निकालेर पाठ्यपुस्तक उपलब्ध गराउन माग गरे । पढाइको चिन्ता गर्दै ब्यानर बोकेर बालबालिका नै सडक आन्दोलनमा उत्रेको सम्भवतः यो पहिलो पटक हो । यस घटनाले पाठ्यपुस्तक अभावको समस्याले स्कुले नानीबाबुलाई कति पिरोलेको छ भन्ने स्पष्ट हुन्छ ।

कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो । 

यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पु¥याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिनुभयो । जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो । 

प्रज्ञाले पनि सकेन छापेर

जनक शिक्षा आफैँले छाप्न नसकेर नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिएको छ तर नेपाल प्रज्ञाले पनि कागजकै अभावमा तोकिएको सङ्ख्यामा पुस्तक छाप्न नसकेको जनाएको छ । प्रतिष्ठानलाई जनकले कक्षा आठका सात लाख थान पुस्तक छाप्ने जिम्मा दिएको थियो । जनकले नै कागज उपलब्ध गराउने सर्तमा उक्त सम्झौता भए पनि कागज नदिएकाले आफूहरूले छाप्न नसकेको प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक डा. जगतप्रसाद उपाध्यायले बताउनुभयो । यो प्रसङ्ग सुनाएपछि जनकका प्रवक्ता आचार्यले अर्को जवाफ दिनुभयो, “यसबारे पूर्ण जानकारी बजार व्यवस्थापन शाखासँग लिनुपर्छ । म कार्यालय बाहिर रहेकाले सबै तथ्याङ्क दिन सकिनँ । त्यसो भए पाँच÷सात लाख थान पुस्तक छाप्न बाँकी नै होला ।” 

प्रज्ञा प्रतिष्ठानसँग भएको सझौताअनुसार पुस्तक छाप्न कागज किन नदिएको त भन्ने जिज्ञासामा आचार्यले प्रतिप्रश्न गर्दै भन्नुभयो, “आफैँलाई त पुस्तक छाप्न कागज छैन । प्रतिष्ठानलाई कसरी 

दिनू ?” जनक शिक्षाको यो जवाफबाट स्पष्ट हुन्छ कि विद्यार्थीले पुस्तक अभावको सामना कहिलेसम्म गर्नुपर्छ भन्ने निधो छैन । आफूसँग भएको पुस्तक छपाइको क्षमताका सन्दर्भमा पनि जनक शिक्षाले दिएको जवाफमा उसका छापाखानाको पुस्तक छपाइ क्षमता प्रतिदिन ६५ हजार मात्रै रहेको जानकारी गराएको थियो । जबकि सञ्चार माध्यमसँग प्रतिक्रिया दिने क्रममा यस संस्थाले आफूहरूले प्रतिदिन एक लाख थान पुस्तक छाप्न सक्ने बताउँदै आएको छ । 

निजीका छापाखाना लैजान मानिएन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव तथा पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिका सदस्य डिल्ली लुइँटेलले निर्वाचनअघि नै भएको बैठकको सन्दर्भ उठाउँदै भन्नुभयो, “जनक शिक्षाले प्रतिदिन ६५ हजार थान मात्रै पुस्तक छाप्न सक्ने बताएपछि निजी छापाखानालाई पनि प्रयोग गर्ने र उनीहरूको मेसिनलाई जनककै कार्यालय परिसरमा राखेर पुस्तक छपाइलाई तीव्रता दिने निर्णय भएको थियो ।” उहाँले भन्नुभयो, “तर निजी छापाखाना सञ्चालकले मेसिन ल्याउन नमानेपछि सोचेअनुसार काम हुन सकेन । त्यहीबीच कागज अभावको समस्या आयो । मतपत्र पनि छाप्नुप¥यो । अहिले पुस्तक अभाव हुनु त्यसैको परिणाम हो ।”

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।