काठमाडौं, असार २८ गते । १२औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो ।
उद्घाटन अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै खेलाडी उत्दापन गरेर भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो ।
दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन अवसरमा सहभागी पाँचवटा प्रदेशका खेलाडीले मार्च पास गरेका थिए । ओलम्पियन जुडोकी सोनिया भट्टले दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गर्नुभएको थियो । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उद्घाटन अवसरमा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलो पटक हो ।
निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ लिनुभएको थियो ।प्रतियोगितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेशको सहभागिता रहेको छैन । बिहीबारसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमागरी पाँच सय खेलाडी सहभागी छन् ।
एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कूल पुरस्कार राशी ९ लाख ४५ हजार रुपियाँ रहेको राखेपले जनाएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेश संरचनामा आयोजना भएको यो तेस्रो पटक हो ।