• १८ असार २०८१, मङ्गलबार

समयसीमाअगावैै पुल निर्माण

blog

हेटौँडा, असार २८ गते । सरकारी सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । ठेक्का सम्झौताअनुसार काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने काम पनि हुँदै आएकोमा बागमती प्रदेशको प्रदेश यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको हेटौँडाको पुल भने निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।

निर्माण व्यवसायीमा मूल्य वृद्धिलगायतका कारण देखाउँदै सार्वजनिक पूर्वाधार निर्माणका लागि पेस्की लिने र पछि तोकिएको समयमा निर्माण पूरा नगरी पटक–पटक म्याद थप गर्दासमेत अलपत्र पार्ने क्रम बढ्दै गएको समयमा हेटौँडा उपमहानगरपालिका–११ को नवलपुर र वडा नम्बर १२ को आलदमार जोड्ने गरी राप्ती खोलामा पक्कीपुल निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौता मितिभन्दा तीन महिनाअघि नै काम सम्पन्न गरेको हो ।

व्यवसायी आफैँले डिजाइन र निर्माण गर्ने अवधारणामा पुल निर्माणको ठेक्का लिएको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि, काठमाडौँले आगामी असोज २६ गते निर्माण सम्पन्न गर्नेगरी २०७६ असोज २७ गते निर्माण सम्झौता गरेको थियो । बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ मङ्सिर १८ गते शिलान्यास गर्नुभएको पुल निर्माण सुरु गरेको डेढ वर्षमा नै  निर्माणको काम पूरा गरेको छ ।

पुल शिलान्यास कार्यक्रममा पौडेलले निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम सम्पन्न नगरे कारबाही गर्ने र तोकिएको समयसीमाभन्दा अगावै निर्माण पूरा गर्ने कम्पनीलाई पुरस्कृत गर्ने नीति प्रदेश सरकारको रहेको बताउनुभएको थियो । 

प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले तराईका जिल्लामा आएका सवारीसाधन हेटौँडाको मुख्य बजार क्षेत्रबाट जानुपर्ने बाध्यता रहेकोमा अब पुल निर्माण भएपछि राजमार्गको मापदण्डअनुसार बनेको कारण वैकल्पिक सडकका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकार स्थापनापछि ७० वटा पक्कीपुल निर्माण सम्पन्न भएको बताउँदै उहाँले सबैभन्दा महìवको राप्ती पुल भएको जानकारी दिनुभयो । 

डिजाइन गर्दा र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्दा काम सुरु गर्न ढिलाइ भएको बताउँदै निर्देशक भण्डारीले भन्नुभयो, “निर्माण कम्पनी सक्रियतापूर्वक लागेकाले तोकिएको समयभन्दा अगावै सम्पन्न भएकाले निर्माण कम्पनीलाई पुरस्कृत गरिनेछ ।”

२१५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार २३३ रुपियाँको लागतमा निर्माण भएको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिम र आर्थिक मन्दीका बीच पनि निर्माण कम्पनीले तोकिएको समय अगावै निर्माण पूरा गरेर निर्माण कम्पनीमा इच्छाशक्ति भएमा समयमा निर्माण पूरा गर्न सकिने पुष्टि गरेको बताउनुभयो । 

यस्तै निर्माण कम्पनीका सञ्चालक राजु बिडारीले निरन्तरको प्रयास र प्रतिबद्धताअनुसार काम गरेर ताकिएको समयभन्दा अगावै पुल निर्माण सम्पन्न गरेको बताउनुभयो । निर्माण सम्पन्न राप्ती पुलले पदमपोखरी बृहत् सहरका रूपमा विकास गर्न सहयोग पुग्नुका साथै चक्रपथलाई समेत जोड्ने जनाइएको छ ।

पुल निर्माणसँगै सात सय मिटर क्षेत्रफलमा नदी नियन्त्रण गरिएको छ । पुलको दुवैतर्फ गरी सात सय मिटर पहुँचमार्ग निर्माण गर्ने योजना रहेकोमा हेटौँडा–११ तर्फ सात सय मिटर सडक कालोपत्रे गरिएको छ र हेटौँडा–१२ तर्फ आगामी आर्थिक वर्ष २०७९/८० मा कालोपत्रे गरिने भएको छ ।