• २३ कात्तिक २०८२, आइतबार

चितीखोला गाउँमा फार्मस्टे, पर्यटक आकर्षित

blog

तनहुँ भानु नगरपालिका –९ चितीखोलामा गीता अधिकारी पाण्डेले सञ्चालन गरेको ग्रिन हिमालय फार्मस्टे । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुड, कात्तिक २३ गते । पारीपट्टी झलल देखिने मनास्लु हिमश्रृङ्खला छ । वरिपरि हरियाली अर्गानिक फलफूल र तरकारी खेती । बारीमा चरिरहेका स्थानीय जातका कुखुरा, हाँस र कालिज छन् । यहाँ आउँदा जो कोही पनि मोहित बन्छन् । 

लमजुङ र तनहँुको सिमा भानु नगरपालिका –९ चितीखोलामा स्थापना गरिएको फार्मस्टेले आजभोलि आम्दानी मात्र हैन, पर्यटकलाई आकर्षण गरिरहेको छ । डुम्रे–बेंसीसहर सडकमा पर्ने अर्चलधाराको चिसो पानी खाएर एक किलोमिटर भित्र लागेपछि पुगिन्छ ग्रिन हिमालय फार्मस्टे । मेवा, बेलौंती, कागती, ड्रागनफुडको बगैचामा फूलमालाले स्वागत गर्न तयार हुनुहुन्छ सञ्चालिका गीता अधिकारी पाण्डे । 

पछिल्लो समय गाउँ छोडेर शहर झर्नेको लर्को छ । गाउँका घरखेत बेचेर शहरमा किन्नेहरु बढ्दो छन् । यस्तो समयमा काठमाडौंमा भएको सुविधा सम्पन्न घर बेचेर गाउँमा फार्मस्टे सञ्चालन गर्न आएको सञ्चालिका पाण्डेले बताउनुभयो । “धेरैलाई अपत्यारिलो लाग्छ, तर म काठमाडौंको घर बेचेर हिम्मतका साथ गाउँ आएको हुँ, उहाँले भन्नुभयो, “यहाँ आएर पुरानो घरलाई मर्मत गरेर फार्मस्टे सुरु गरेँ ।”


फार्मस्टेमा आधुनिकदेखि परम्परागत खालका बस्ने ठाउँ बनाइएको छ । अर्गानिक खानपानको ब्यवस्था गरिएको छ । बर्षौं छोडेको पुरानो घरलाई नै मर्मत गरी सञ्चालनमा ल्याइएको छ । परम्परागत घुमाउने घर बनाइएको छ । हिमालय फार्मस्टे परम्परागत र आधुनिकताको संगमको रुपमा रहेको पाण्डेले बताउनुभयो । पुख्र्यौली जग्गा ७५ रोपनी क्षेत्रफलमा आफैले खेती गरी पर्यटकलाई अर्गानिक खाना खुवाउने ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हिमालय फार्ममा २ करोडभन्दा बढीको लगानी पुगेको सञ्चालक पाण्डेले बताउनुभयो । घर बेचेको पैसा र बैंकबाट ऋण लिएर बषौं बाँझिएको जमीन र छोडेको घर हराभरा भएको छ । यही हराभरा हेर्न दैनिक पर्यटकहरु आउने गरेका छन् । उहाँका श्रीमान नेपाल सरकारका सहसचिव हुनुहुन्छ । छोराछोरी विदेश छन् । तर गीता भने गाउँमा बसेर फार्मस्टे सञ्चालन गरी कृषि र पर्यटन प्रवर्धनमा लाग्नुभएको छ ।

यहाँ पुग्ने पर्यटकहरुले बारीमा उत्पादन भएको तरकारी, फलफूल तथा लोकल चामल, दुध, घिउ, दही, मही खान र किन्न पाउँछन् । त्यति मात्र हैन, एकीकृत कृषि फार्म कसरी गर्न सकिन्छ भन्ने जान्न बुझ्न खोज्नेका लागि यो ठाउँ उपयुक्त रहेको पाण्डे बताउनुहुन्छ । 

पाण्डे विहान सबेरैदेखि गाई दुहुने, बारीका तरकारी फलफूल टिप्ने र पर्यटकहरुको सत्कारमा जुट्ने कार्यबाट दिनको सुरुवात गर्नुहुन्छ । उहाँले नजिकै गाउँहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल समेत खरिद गर्ने गर्नुभएको छ । गाउँमा नजिकै धेरै थोरै उत्पादन पनि बिक्री हुने र गाउँलेहरुले समेतले आयआर्जन गर्ने गरेको पाण्डेले बताउनुभयो ।

चार वर्षदेखि सुरु गरिएको यो फार्मस्टेमा प्रायःजसो लमजुङ, गोर्खा, पोखराका आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । पारिवारिक घुमघाम, समूहगत पिकनिकका लागि यहाँ पुग्नेको घुइँचो लाग्ने गरेको छ । 


२०५६ सालमा दिल्लीमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा नेपालको तर्फबाट भाग लिँदा ग्रामीण पर्यटनको महत्व बुझेको र त्यहीबेलादेखि गाउँ फर्किएर कृषि पर्यटनमा लाग्ने अठोट लिएको उहाँले बताउनुभयो । परम्परागत र आधुनिक शैलीको मिश्रण गरी सुरु गरिएको फार्मस्टे ग्रामीण कृषि उद्यमशीलताको राम्रो नमुना बनेको त्यहाँ पुग्नेहरुले बताउने गरेका छन् ।