• १९ असार २०८१, बुधबार

हिंसापीडितलाई सीपमूलक तालिम

blog

दोलखा समाचारदाता

चरीकोट, असार २८ गते । दोलखाको भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा उज्यालो भविष्य दोलखाको आयोजनामा सञ्चालित हिंसापीडित महिलाका लागि पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ । आइतबार तालिमको समापनमा नगरप्रमुख ईश्वरनारायण मानन्धरले मानवीय सम्वेदनालाई पहिलो प्राथमिकता दिने चुनावी घोषणपत्रमा उल्लेख रहेको जानकारी दिनुभयो । 

हिंसापीडित महिला, ज्येष्ठजन, दलित, बालबालिकालगायतलाई पहिलो प्राथमिकतामा सम्बोधन गर्ने गरी बजेट विनियोजन भएको जानकारी दिँदै उहाँले सीपमूलक र आत्मनिर्भर हुने कार्यक्रमको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार मानवीय सम्वेदनापछि कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिने बजेट विनियोजन भएको छ । 

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरका प्रवक्ता तारानाथ चौलागाईं, नेपाल पत्रकार महासङ्घ दोलखामा शाखा अध्यक्ष दीपशङ्कर चौलागाईं र तालिममा सहभागी अविता बस्नेतले बोल्नुभएको थियो । सीपमूलक डल एवं कुसन तालिममा २८ जना हिंसापीडित महिलाको सहभागिता थियो ।