• १८ असार २०८१, मङ्गलबार

सङ्घीय निजामती ऐन लागू गर्न दबाब

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २७ गते । ओखलढुङ्गामा निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न नेपाल सरकारलाई दबाब दिएका छन् । जिल्लामा रहेका चार कर्मचारी सङ्गठनले सोमबार संयुक्त ज्ञापनपत्रमार्फत नेपाल सरकारलाई दबाब दिएका हुन् । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गमार्फत चार सङ्गठनले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल सरकारले सङ्घीय निजामती ऐन जारी नगर्दा कर्मचारीहरुको सरुवा, बढुवा तथा वृद्धि विकासमा असर परेकाले ज्ञापन पत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको नेपाल निजामती कर्मचारी युनियन ओखलढुङ्गाका कोषाध्यक्ष वीरेन्द्र तामाङले बताउनुभयो । राष्ट्रसेवक कर्मचारीको व्यवस्थापनको क्षेत्रमा सरकार गम्भीर बन्न युनियनको जोड छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सङ्घीय निजामती ऐन लागू हुनुपर्नेमा जोड दिँदै कर्मचारी सङ्गठनले बुझाएका ज्ञापनपत्र तत्काल सम्बन्धित निकायमा पठाउने बताउनुभयो । 

जिल्लामा रहेका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका थिए । नेपाल सरकारबाट आफ्नो माग सम्बोधन नभए थप सङ्घर्षका कार्यक्रम गरिने निजामती कर्मचारीहरुले चेतावनी दिएका छन् ।