• १५ असार २०८१, शनिबार

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २७ गते । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले राष्ट्रियसभाको सन्देशसहित ‘नेपाल रेल्वे विधेयक, २०७९ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्रस्ताव संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद भुपेन्द्रबहादुर थापाले गणपूरक सङ्ख्या रहे नरहेको एकीन गर्न सदनको ध्यानाकर्षण गराउनुभयो । तत्पश्चात तीन मिनेट घण्टी बनाएर गणना गर्दा गणपूरक सङ्ख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

सभामुख सापकोटाले कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थिति हुनुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो । बैठकमा एक चौथाइ सदस्य नपुगेपछि सभामुख सापकोटाले असार २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।