• १३ साउन २०८१, आइतबार

सुन्दरीजलमा भट्टराईको सालिक शिलान्यास

भट्टराईको जीवन शिक्षाप्रद र प्रेरणाको स्रोत : मन्त्री चौधरी

blog

खानेपानी मन्त्री उमाकान्त चौधरी पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक निर्माण कार्यको शिलान्यास गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन 

काठमाडौँ, असार २७ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनुभएको छ । 

मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्व प्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पूरा गर्ने बताउनुभएको हो ।

खानेपानी मन्त्री चौधरीले दुई पटकसम्म प्रधानमन्त्री हुनुभएका स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिको रुपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उहाँ जस्ता त्यागी राजनेता पाउन कठिन भएको बताउनुभयो ।

काठमाडौंको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने भट्टराईको सपना पूरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै मन्त्री चौधरीले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकरकै पालामा हुने बताउनुभयो । 

उहाँले एसियाली विकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आएबमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायीरुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिने बताउनुभयो । 

उहाँले मेलम्चीको विकल्पमा बागमतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौं ल्याइने बताउनुभयो । 

प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीको घर घरमा पुराएको खण्डमा पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पूरा हुने बताउनुभयो । 

पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्वच्छ छविको निष्कलङ्क र सन्त नेता भएको जनाउँदै मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने सपना पूरा गर्न लागेकोमा मन्त्री र सरकारलाई धन्यवाद दिनुभयो ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव बिनोद भट्टराईले प्रधानमन्त्री भइसक्दा पनि बालुवाटारबाट निस्कँदा आफ्नो निजी सम्पत्तिको रुपमा सुराही, छाता र टिनको बाकस मात्र लिएर जानु भएको बताउनुभयो । निजी सम्पत्ति आर्जनमा कहिल्यै ध्यान नदिने भट्टराई इमादारीका प्रतिमूर्ति भएको बताउनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको सञ्चालन र संरक्षण गर्ने बताउनुभयो । 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमूर्ति भएको जनाउँदै जनस्तरबाटै आलोचना र विरोध नखेपेका नेपालका एक मात्र प्रधानमन्त्री भएको दाबी गर्नुभयो । उहाँले किसुनजी जस्ता त्यागी नेतालाई सम्झिएकोमा खानेपानी मन्त्री र मन्त्रालयप्रति आभार व्यक्त गर्नुभयो । 

काठमाडौं कांग्रेसका सचिव दीपक पुडासैनीले मेलम्चीको पानी काठमाडौं ल्याएर सडक पखाल्ने योजना सुनाउँदा मन्त्री विरोधीले अनेक आलोचना गर्ने गरेको तर आज किसुनजीको सपना पूरा भएको बताउनुभयो । 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम जिम्मेवारी पूरा गर्न मन्त्रालय तयार भएको बताउनुभयो ।  

मेलम्ची खानेपानी विकास समितिको एक करोड रुपियाँ बढीको लागतमा निर्माण गरिने शालिकसहितको पार्क निर्माण यही मङ्सिरसम्म गरिसक्ने लक्ष्य छ । 

मेलम्ची र किसुनजीबीचको सम्बन्ध

वि.सं २०४६ को सफल जनआन्दोलनपछि २०४७ सालमा निर्माण भएको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी काठमाडौंबासीको उपयोगका लागि ल्याउने महत्वाकांक्षी योजना घोषणा गर्नुभएको थियो । 

मेलम्चीको पानी काठमाडौंमा ल्याउनका लागि परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पर्ने मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँ नजिक मुहान (हेडवक्र्सं) निर्माण गरी २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा भित्र्याउने उद्देश्य थियो । 

यसअघि सन् १९८८ मा बिन्नी एण्ड पार्टनर्स नामक बेलायती संस्थाले उपत्यका र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीको स्रोत अध्ययन गर्दा मेलम्ची नदीको उपयोगलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतको रुपमा पहिचान गरेको थियो । 

तत्कालीन प्रधानमन्त्री भट्टराईको महत्वाकांक्षी घोषणापछि सन् १९९२ मा अस्ट्रेलियाको स्मेक कन्सल्टेन्टले मेलम्ची नदी डाइभर्सन स्किमको अध्ययन गरी ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदीसहित लाङटाङ नदी पम्पिङको आधारमा इन्दावती, त्रिशूली, कुलेखानीसहित अन्य खोला तथा नदीको अध्ययनले मेलम्चीलाई नै सबैभन्दा उत्तम ठहर गरेको थियो । 

सोही अध्ययनको आधारमा एडिबीको संयोजकत्वमा नर्वेजियन बिका संस्था (नोराड), स्विडिस विकास संस्था (सिडा), जापानी संस्था (जेविक) र विश्व बैंकले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि विस्तृत अध्ययन गरेको थियो । 

तत्पश्चात्, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि २०५६ सालमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालय मातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । 

त्यसलगत्तै (सन् १९९९) विश्व बैंक र नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन र सोही अध्ययनको आधारमा सन् २००१ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्न सहमत भएपछि १२० मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत् रुपमा शुरु भएको हो । 

मेलम्ची खानेपानी आयोजनाको अर्को मुख्य संरचनामा पानी प्रशोधन केन्द्रको निर्माण जापान सरकारको जाइका संस्थामार्फत सुन्दरीजलस्थित यो महाँकाल फाँटमा २३८ रोपनी जग्गामा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । 

मेलम्चीको पानी २०७७ फागुन २२ गते काठमाडौं पथान्तरण गरिएको थियो भने सोही वर्षको चैत २० गते उपत्यकामाका धारामा मेलम्चीको पानी छाडिएको थियो । 

मेलम्चीको हेडवक्र्समा २०७८ असार १ गते आएको बाढीले हेडवक्र्स क्षेत्रसहित अन्य संरचनामा क्षति पुर्याएको थियो । त्यसपछि सरकारले क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण गरी २०७८ साल चैतमा मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न सफल भएको थियो । 

हेडवक्र्स क्षेत्रमा सम्भावित बाढीको कारण कुनै क्षति नहोस् भन्ने मनसायले सरकारले गत जेठ दोस्रो साता सुरुङको ढोका बन्द गरी काठमाडौंमा पानी पथान्तरण कार्यलाई स्थगित गरेको छ । सरकारले वर्षातको समय समाप्त हुनासाथ मेलम्चीको पानी पुनः काठमाडौंतर्फ पथान्तर गर्ने जानकारी कार्यक्रममा दिइएको छ ।