• १० मंसिर २०८१, सोमबार

रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ

blog

रमेश विश्वकर्मा

गुल्मी, असार २७ गते । रासायनिक मलको अभावकाबीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाइँ सकिएको थियो । 

रासायनिक मलको अभाव भए तापनि यस वर्ष पर्याप्त मनसुनी वर्षा भएका कारण गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ १० प्रतिशतभन्दा बढी भएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

मकै खेती गरिएको र चैते धान रोपिएको बेंसीका खेतमा धान रोप्न बाँकी  छ । चैते धानको रुपमा स्थानीय मार्सी, सी–एच ४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ । जिल्लामा ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जसमा चैते धान ३५० हेक्टर क्षेत्रफलमा र बर्षे धान ८ हजार ८०३ हेक्टर क्षेत्रफलमा लगाइने गरिएको भण्डारीले जानकारी दिनुभयो ।  

हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सीलगायत जातका धान लगाउने गरिन्छ । उन्नत जातका सावाँमन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान लगाइँदै आएको भण्डारीले बताउनुभयो । 

कम उत्पादन दिने भएपनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने र कतिपय त बास्नादार पनि हुने कृषिविज्ञ  भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार कतिपय धानको चामल विशेषप्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदैआएकाले पनि किसान आफैंले यी बीउलाई निरन्तरता दिइरहेका छन् । कतिपय जातका बीउ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । कृषि ज्ञान केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दैआएको भण्डारीले बताउनुभयो । 

गत वर्ष चैते र बर्षे गरी कुल २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएको थियो । धान उत्पादन वृद्धिका लागि विकासे र रैथाने जात धानका बीउ बराबरी लगाइनुपर्ने कृषि विज्ञ भण्डारीले बताउनुभयो ।  

अहिले रैथानेभन्दा विकासे धान लगाउने चलन बढी छ उहाँले भन्नुभयो– ‘रैथाने धानका बीउले हावापानी, रोग सबै भोगिसकेको हुन्छ ।’ अप्ठेरोमा साथ दिनसक्ने रैथाने जातको धान भएको भण्डारीले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा गत वर्ष ५ करोड बराबरको चामल आयात भएको थियो । मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको भण्डारीको भनाइ छ ।