• २३ कात्तिक २०८२, आइतबार

जेनजी आन्दोलनको क्रममा तोडफोड गर्ने नौ जना पक्राउ

blog

लीलाधर वली

घोराही, कात्तिक २३ गते । दाङमा प्रहरीले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ । 

घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका –१५ स्थित भानुचोकमा रहेको प्रहरी विटमा ढुंगामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।  

प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१५ निवासी २४ बर्षीय सुनिल थापा मगर, सोही ठाउँ निवासी २४ बर्षील कुनाल श्रेष्ठ, २४ बर्षीय ईनाहित कुरेसी, १८ बर्षीय टेकम डाँगी र अर्का १८ बर्षीय बिबेक पुन मगर रहेका छन् । 

त्यसैगरी सल्यान छत्रेश्वरी गाउँपालिका –४ निवासी २६ बर्षीय अमरबहादुर वली, घोराही–१३ निवासी २९ बर्षीय महेश घिमिर, घोराही–९ ढिकपुर निवासी शरद बस्नेत र घोराही –१३ निवासी २५ बर्षीय सन्दीप घर्ती रहेका छन् । सिसी क्यामेरामा कैद भएको दृष्य, सञ्चार माध्यमसँगै जेन्जी आन्दोलनका क्रममा बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोका आधार पक्राउ गरिएको बताउनुभयो । 

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धानको काम भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक शाहले भन्नुभयो, ‘आन्दोलनका नाममा सार्वजनिक सम्पतिमा क्षति गर्ने र लुटपाटमा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ, थपको खोजी कार्य भइरहेको छ ।’ 

उहाँका अनुसार उनीहरुलाई कात्तिकको २१ र २२ गते घोराही क्षेत्रबाट पक्राउ गरिएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते दाङमा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवनसँगै सवारी साधनमा तोडफोड र आगजनी हुँदा एक अर्ब ११ करोडभन्दा बढीको सरकारी सम्पत्तिमा क्षति भएको थियो ।