• १४ वैशाख २०८१, शुक्रबार

तरकारी खेतीबाटै जीविकोपार्जन

blog

धनकुटा (हिले), असार २७ गते । केही समय अघिसम्म ज्यालादारी मजदुरी गर्ने धनकुटा नगरपालिका वडा नम्बर २ गुराँसेका ५५ वर्षीय गोविन्द सारु मगरको जीवन बदलिएको छ । व्यावसायिक तरकारी खेती सुरु गरेपछि उहाँको जीवन नै फेरिएको छ । 

केही समयअघिसम्म उत्पादन गरेको आलु बेंसी झारेर धान साटेर छाक टार्ने गर्दथे तर अब बेसी झार्नु नपर्ने तर उल्टै तरकारी तथा आलुको बीउ खोज्दै बेंसीबाट आउने गरेको मगर बताउनुहुन्छ । यतिबेला उहाँ र उहाँको आफन्तको बारीमा १२ महिना नै तरकारी खेतीले ढाकिने गरेका छन् । यो क्षेत्रमा तरकारीको व्यावसायिक उत्पादन सुरु भएसँगै आयस्रोत बढेको छ । 

डेढ दशक यता धनकुटाका उच्च क्षेत्रका करिब  १५ हजार किसानले बेमौसमी तरकारी खेतीलाई आम्दानीको मुख्य माध्यम बनाएका छन् । यहाँ एक रोपनी बराबर वार्षिक दुई लाखसम्म आम्दानी गदै आएका छन् ।  यहाँको बारीमा एक वर्षमा तीन पटक बाली उत्पादन हुने गरेको उहाँ बताउनुभयो ।


बन्दाकोपी, मटरकोसा, फूलकोपी, आलु, मुला यस क्षेत्रमा उत्पादन हुने मुख्य तरकारीबाली हुन् । त्यसो त यहाँको तरकारी खेतीको इतिहास त्यति पुरानो भने हैन । २०६० सालबाट यस क्षेत्रमा व्यावसायिक तरकारी खेती सुरु भएको स्थानीय इन्द्र सारु मगर बताउनुहुन्छ ।

२०५९ सालदेखि यहाँ उत्पादित तरकारी भारत निकासी हुनथालेपछि यहाँका किसानहरु तरकारीको व्यावसायिक उत्पादनमा लागेका हुन् । व्यावसायिक तरकारी उत्पादनसँगै अहिले एकाएक किसानहरुको परिचय नै फेरिएको छ । अहिले यो क्षेत्र धनकुटाको मात्र नभइ पूर्वकै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्रको रुपमा चिनिने गरेको छ ।


उत्पादित तरकारी तराइका झापा, मोरङ्, सुनसरीसहित भारतका सीमावर्ती बजारसम्म पुग्ने गरेको छ । वार्षिक दुई लाखभन्दा बढी एउटै परिवारले आम्दानी गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । विदेशिएका युवाले समेत फर्किएर कृषि पेसा अँगालेका छन् । 


Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।