• ११ पुस २०८१, बिहिबार

‘सजाय भनेर डराएको त पुरस्कार रहेछ’

blog

 बिन्दु अधिकारी ढकाल 

भाइबहिनीहरु, उहाँ हुनुहुन्छ मूर्धन्य साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रित । १० वर्षको उमेरमा नै ‘दशावतार स्तुति’बाट लेखन आरम्भ गर्नुभएका प्रश्रितले २०१५ सालमा अर्घाखाँचीस्थित हरिहर संस्कृत पाठशालाको किरण पत्रिकामा ’छात्र जीवन’ शीर्षकको कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यिक यात्रा थाल्नुभएको थियो । त्यहाँदेखि निरन्तर नेपाली भाषा तथा साहित्यका विविध विधामा सशक्त रुपले कलम चलाई विशिष्ट साहित्यकारका रुपमा स्थापित हुनुभएको छ । लघुतम फुटकर कवितादेखि खण्डकाव्य हुदै बृहत् महाकाव्यसम्मको यात्रामा कथा, उपन्यास, निबन्ध, गीत, नाटक, राजनीतिक, दर्शन तथा समालोचना एवं संस्मरणलगायत पाँच दर्जनभन्दा बढी कृति प्रश्रितका प्रकाशित छन् । शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रीसमेत बन्नुभएका प्रश्रित २४ वर्षकै उमेरमा ’मानव महाकाव्य’को सिर्जना गरेबापत मदन पुरस्कारबाटसमेत  सम्मानित  हुनुभयो  । साथै, भवानी भिक्षु पुरस्कारलगायत दर्जनौँ सङ्घ, संस्थाबाट सम्मान प्राप्त उहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ? पढौँ उहाँकै शब्द लयमाः

वि.सं. १९९९ असार ६ गतेका दिन अर्घाखाँची जिल्ला खिदिम, हर्राबोटमा मेरो जन्म भएको हो । मेरो आमाको नाम बालिका पौडेल हो । मेरो बुवाको नाम घनश्याम पौडेल हो । बुवाआमाका पाँच सन्तानमा तीन छोरा दुई छोरीमध्ये जेठो पुत्र हुँ । त्यसबेलाको समयानुसार गाउँमा मध्यमस्तरको परिवार थियो हाम्रो । बुवा आयुर्वेदको ज्ञाता र वनारसमा गएर संस्कृत पनि पढ्नु भाको हुनाले अर्धाखाँचीको ‘हरिहर संस्कृत’ पाठशाला खिदिम पोखराथोकमा व्याकरण शिक्षक हुनुहुन्थ्यो भने आमा गृहिणी ।

घरबाट पाठशाला पुग्न डेढ दुई कोस बाटो उति टाढा नभए पनि बुवा उतै बस्नु हुन्थ्यो । त्यो बेलाको शिक्षा धुलो माटो कालो पार्टीमा राखेर सिन्काले लेख्नु पथ्र्यो । मैले पनि त्यही प्रक्रियाबाट अक्षर चिनेँ । बुवाले आफूसँगै राखेर साँझ पनि पढाउने गर्नुहुन्थ्यो । बिहान पनि पढाउने । अनि, त्यही बेला छन्द पनि सिकाउनु भो । चण्डी, वेदसँगै संस्कृत व्याकरण र काव्य पनि पढियो । त्यतिखेरको त्यो शिक्षा १० कक्षा पढेसरह हुन्थ्यो ।

कोर्स कडा हुनाले पाठशाला बिदामा मात्र घर गइन्थ्यो । हैन भने पढाइ छाडेर खासै हिँडिदैनथ्यो । कि त दशैँ–तिहार नै आउनु पथ्र्यो । बर्खा धान रोपाइँ गर्ने बेलामा मात्र लामो समय घर बसेको सम्झना छ । त्यो बेला समयमा काम नगरे माम कसरी खान पाइन्थ्यो र ?

‘हरिहर संस्कृत’ पाठशालामा पढ्दै गर्दाको एक स्मरणीय कुरा । म करिब १० वर्षको थिएँ होला । एकदिन विष्णुराज आत्रेय नाम गरेका साथीसँग त्यहाँबाट हिडेँ । कपिलवस्तु घरभएका उहाँ पनि सोही पाठशालामा पढ्नुहुन्थ्यो । गाउँभरि हल्ला थियो कि, माथि पहाडको टुप्पोबाट ठूलो गर्जनसहित खसेको ढुङ्गामा अलौकिक शक्ति छ भन्ने सुन्यौँ । ए हो र ? कस्तो शक्ति ? आखिर बच्चा न परियो, हेरौँ भन्ने कौतुहल भयो अनि त्यहाँ कतिखेर पुगेँ पत्तै भएन ।

कतै मान्छेजस्तो । कतै गाईजस्तो त कतै भगवान्जस्तो किरिङमिरिङ किरिङमिरिङ आकृतिको सो ढुङ्गालाई साक्षत् देवता मानेर गाउँलेले पूजाअर्चना गरेको देख्दा वास्तवमै अचम्म लाग्यो । त्यो अनौठो हेरेर छात्राबास आइपुग्दा ‘बिदा नमागी हिँडेका यी केटा काँ गर आ’ हुन् ? यिनीहरूलाई खाना नदिनु,’ हेड गुरुको त्यो आदेशले भोकै सुत्नु पर्ने भो । हुन त दुई दिन पाठशाला बिदै थियो । गुरुलाई उक्त कुरा भन्न त भन्यौँ, “हामी देवता हेरेर फर्केका । आउँदा आउँदै यो बेला भो । फेरि, त्यो ठाउँ त्यत्रो टाढा होला भनेर सोचेकै थिएनौँ ।”

जति नै अनुनय विनय गरे पनि खान नपाइने भएपछि अब के गर्नु ? कहाँ जानु ? अरू त अरू आन्द्रा बटार्ने गरी लागेको भोक खपेर निदाउनु पो कसरी ? अनि, हामीले एउटा एउटा कापी किनेर ल्याएका थियौँ । ‘हे भगवान् ! यस कापीमा अब हामी तपाईंका कविता लेख्छौँ ।” मनमा फ्याट्ट त्यसै भन्न आयो । अलिअलि छन्द पनि जानेको हुनाले रातभरिमा पाँचवटा कविता लेखेको रहेछुँ । साथी विष्णु पनि लेख्दै हुनुहुन्थ्यो । बिहान छन्दबन्द त्यो कापी त्यहीँ सिरानेमा राखेर कतै निस्केको थिएँ । बुवाले पढ्नु भएछ र ‘हेड गुरु’लाई पनि देखाउनु भएछ । त्यो हेरेर मलाई खोज्न पठाउनु भाको रहेछ तर मैले ठानेँ, नहुनु गयल भइयो अब जसो होला । सजायतर्फ मात्रै गयो मन ।

डराई डराई गुरुका नजिक पुगेको मात्र के थेँ, ‘नभनी हिँडेबापतको सजाय खाना खान पाउन्नस् भनेको त कविता पो लेखेछ । ए, तैले नै लेखेको हो यो ? ल पढ् त नाति ।’ भनेर जब पण्डित दधिराम मरासिनीले भन्नु भो, वरिपरि जम्मा भएका साथीहरू माझ सबैले अबिर माला लगाइदिए र टाउकामा फेटा पनि बाँधिदिएपछि हातमा पाँच रुपियाँ पुरस्कार पनि ! सजाय भनेर डराएको त पुरस्कार पो रहेछ । त्यो पल साह्रै खुसी भएँ म ! मेरो प्रेरणा स्रोत ’हेड गुरु’ नाताले मेरा मावली हजुरबा हुनुहुन्थ्यो । हो, उहाँको त्यो आशीर्वाद त्यही कापीमा अरू पनि कविता लेख्दै गएँ ।  

’हरिहर संस्कृत’ पाठशालामा पढ्न त पढियो तर त्यहाँ औपचारिक किसिमको परीक्षा प्रणाली नहुनाले पछि वनारस गएँ । त्यो बेला पूर्व मध्यमा र उत्तर मध्यमा पद्धति हुन्थ्यो । अहिले ‘आईए वा प्लस टु’ भने जस्तो उत्तर मध्यमा हुन्थ्यो । परीक्षा दिएँ । त्यसमा उत्तीर्ण भएपछि बीएसरह शास्त्री हुन्थ्यो । त्यसमा चाहिँ टप गरेँ । अनि अर्को, एमएसरह आचार्य– त्यो पनि पूरा गरेँ ।

वनारस बसेर पढ्न धेरै रमाइलो थियो । छात्राबासमा बस्दा छात्रावृत्ति पाइन्थ्यो । खानाचाहिँ आफैँले पकाएर खानुपथ्र्यो । त्यहाँ रहँदा राजनीति नगरी धरै थिएन । किनकि, माहोलै पार्टीमा लाग्नेको थियो । म पहिला कांग्रेस थिएँ । पछि, पुष्पलालसँगको सङ्गतले एमाले भएँ । यसकारण पनि मेरो लेखाइमा माक्सवादी चेतना झल्किन्छ । ‘हरिहर संस्कृत’ पाठशाला वनारसको पढाइ पूरा गरेर नेपाल फर्केपछि भैरहवा बसेर पत्रिकामा काम गर्दै स्कुल पढाउन बुटवल धाउँथेँ ।

वि.सं. २०२५ को कुरा हो । नेपालमा प्रजातन्त्रको जागरण ल्याउन क्रान्तिकारी कामको सुरुवात के कसरी गर्ने त ? भन्दा । त्यसबारे एउटा नाटक तयार गरिएको थियो । केही साथीसहित सांस्कृतिक टोलीको नेतृत्व गर्दै आसाम हुँदै भारतका विभिन्न भूभागमा गयौँ जहाँ नेपाली भाषीहरूको बसोबास थियो÷छ । व्यापक किसिमले नाटक मञ्चन गर्ने योजनाअनुुसार समय तालिकाबमोजिम नै यस अभियानमा सफल पनि भइयो ।

हिमाल, पहाड अनि तराई यसरी मिलेको भूमि नेपालबाहेक अन्यत्र कहाँ छ ? विश्वमै छैन । विज्ञानमुखी शिक्षा भनिए पनि हाम्रो देशमा भएका औषधिजन्य जडीबुटी प्रयोगमा नल्याउनुले यहाँ भइरेका प्राकृतिक सम्पदा खेर गइरहेका छन् । अतः विद्यालय शिक्षा नै यस्तो होस् आफ्नो मातृभूमिप्रतिको सद्भाव कलिलो उमेरदेखि नै बालबच्चामा प्रयोगात्मक पद्धतिको विकास भो भने र गर्न सकियो भने प्रतिभा पलायन रोकिनेमा दुईमत छैन ।