• ५ वैशाख २०८१, बुधबार

प्रदीपकुमार राईबाट व्याकुल माइला बनेकाे यात्रा

आफैँ रुने राष्ट्रिय गानका रचनाकार

blog

काठमाडौं, असार २४ गते ।

सयौं थुङ्गा फूलका हामी

एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची महाकाली

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल 

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल 

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । 

राष्ट्रिय गानको रचना भएको १५ वर्ष बितेको छ । २०६२/०६३ काे  जनआन्दोलन  पछिको नयाँ राष्ट्रिय गानका रचनाकार व्याकुल माइला हुनुहुन्छ । रचनाकार माइलाका अनुसार यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो र २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको थियाे ।

राष्ट्रिय गानका सर्जक बनेपछि आफ्नो जीवनमा परिवर्तन आएको रचनाकार माइलाको अनुभव छ । “राष्ट्रिय गानमा प्रयोग भएका शब्दले देश, जनता र समाजको वास्तविकता बयान गरेको छ, उहाँ भन्नुहुन्छ, ''हामी नेपाली जनताको जीवनशैली, संरचना, विशेषता र परिस्थिति जस्तो छ त्यसैलाई मैले शब्दमा व्यक्त गर्ने प्रयास गरेको हुँ ।''

राष्ट्रिय गान सार्वजनिक विषयवस्तु र चासोको विषय हो । जुनसुकै सभा समारोहमा आफूले रचना गरेको राष्ट्रिय गान गुन्जिदा गर्व महसुस हुने उहाँ बताउनुहुन्छ । राष्ट्रिय गानले सम्पूर्ण देश, जनता र नेपालीलाई समेटेको उहाँको भनाइ छ । 

प्रदीपकुमार राईबाट व्याकुल माइला बन्ने यात्रा निकै रमाइलो रहेको उहाँ बताउनुहुन्छ । घर परिवारमा माइलो छोरोको रुपमा उहाँकाे जन्म भयो । यसबाहेक आफ्नो कविता पढेर आफैँ रुने माइलाको मन निकै विरक्त, उदास र वैरागी प्रकृतिको छ ।

आफ्नो प्रकृतिसँग मिल्ने शब्दको चयन आफैँ गरेर साहित्य क्षेत्रमा व्याकुल माइला नाम राखेको उहाँ बताउनुहुन्छ । यसै विषयमा केन्द्रित रहेर राष्ट्रिय गानका रचनाकार व्याकुल माइलासँग गोरखापत्र अनलाइनले गरेको भिडियो संवाद ।

भिडियाे: मनाेजरत्न शाही र केशब गुरूङ