• ३ जेठ २०८१, बिहिबार

‘अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको भन्नेमा सत्यता छैन’

blog

इनरुवा, असार २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रबारे भ्रम पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिन सरकार सचेत रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री कार्कीले सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सबल बनाउन सकिने दाबीसमेत गर्नुभयो । उहाँले श्रीलङ्काको उदाहरणबाट सचेत हुनुपर्नेसमेत बताउनुभयो ।  यसैगरी उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएको बताउनुभएको छ ।  

यस्तै शनिबारनै सुनसरीको इनरुवामा आयोजित  कार्यक्रममा उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएको बताउनुभयो । नेपाल टेलिकमले आयोजना गरेको एक्सेन्ज कोपेर नेटवर्कबाट फाइबर (एफटीटीएच) नेटवर्कमा स्तरोन्नति प्रणालीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । उहाँले  सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

मन्त्री कार्कीले नेपालीको नागरिकता पाउने हकको सुरक्षाका लागि सरकारले शुक्रबारमात्रै नयाँ नागरिकता विधेयक ल्याएको बताउनुभयो । उहाँले इनरुवा–६, ८ र १० मा तथा भोक्राहा नरसिंह गाउँपालिका–१ मा नेटवर्क समस्या समाधानसहित दूूरसञ्चार सेवा विस्तार भएको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले एक्सेन्ज कोपेर नेटवर्कबाट आएको फाइबर (एफटीटीएच) नेटवर्कलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

एफटीटीएचमार्फत उच्च गतिको डाटा सेवा, भ्वाइस सेवा तथा टेलिभिजन सेवा गरी एकै फाइबर तारबाट तीनवटा गुणस्तरीय सेवा प्रवाह भएको जानकारी उहाँले दिनुभयो । यसैबीच मन्त्री कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताउनुभएको छ । वराहक्षेत्र नगरपालिकास्थित सप्तकोसी बहुमुखी क्याम्पसलाई भारतीय दूतावासमार्फत प्राप्त बसको उद्घाटन तथा प्राध्यापक सङ्घको पदभार ग्रहण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताको सेवा र देशको समृद्धिका लागि राजनीति गर्नुुपर्ने बताउनुुभयो । 

यसैबीच मन्त्री कार्कीले मुलुकमा देखिएको नागरिकताको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्बर ४ को लौकहीमा नेपाली कांग्रेस पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनुभयो । मन्त्री कार्कीले जनता समाजवादी पार्टीका कोसी गाउँपालिका सभापति अमरलाल यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी १२५ जना नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुुभयो । 

(प्रदेश १ संयोजक सचिन पोख्रेल, इनरुवा समाचारदाता जयकृष्ण यादव र झुम्का समाचारदाता फूलचन्द मेहताको सहयोगमा ।)