डा. माधव अधिकारी
भाइबहिनीहरू, हाम्रो वरपर विभिन्न कामको लागि प्रयोग गरेर खेर गएका सामग्री हुन्छन् । जसलाई हामी फोहोरमैला भन्छौँ । कति फोहोर पुनः प्रयोग गर्न सकिने खालको पनि हुन्छन् कति प्रयोग गर्न मिल्दैनन् । यसको व्यवस्थापन कसरी गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो ।
भाइबहिनीहरू तिमीहरू सानै भए पनि यस्ता कुरामा ध्यान दिएर आफ्नो घर तथा वरपरको वातावरण सफा राख्न मद्दत गर्न सक्छौँ । फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा काठमाडौँ महानगरपालिकाको गर्नु उपयुक्त होला । काठमाडौँ उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्काशन गर्न थालेको करिब १७ वर्ष पुगिसक्यो ।
काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य सम्पन्न हुँदै छ । दुई वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १७ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिइ बगेको अर्धठोसका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईवस्तु एवं कृषि उपज, जलथल, वातावरणमा नै नकारात्मक असर परेको गुनासो छ ।
सिसडोल ल्यान्डफिल्ड साइट हाल पूर्ण रूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । केही किलोमिटर सडक फोहोर पुरी बनाएकोले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी बेलाबखत फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले बालबालिका, वृद्धवृद्धासमेत सबैको जनस्वास्थ्यमा असर परेको सर्वविदितै छ ।
हाल टेकुबाट डम्पिङ साइटमा अवरोध हुँदा फोहोर उठ्न नसकी दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ ।
यसै सिलसिलामा गत २०७९ नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्नका लागि विज्ञप्ति निकालेको पाइन्छ । सोअनुसार, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्नका लागि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्नुपर्ने जनाएको छ । महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी बाहिर आएको छ । यसको मुख्य उद्देश्य फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याई फोहोरमैला निष्काशनमा कमी गरी स्रोत परिचालनसहित वैज्ञानिक व्यवस्थापन गर्नु हो ।
सहरवासीले फोहोर सङ्कलन गर्ने सवारी साधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ । कुहिने र नकुहिने वर्गीकरण नगरी सङ्कलन गर्ने सवारीसाधानसम्म फोहोर ल्याई सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काइ सो घरधनीलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवाना गर्नेसमेत जनाएको छ । यो कदम धेरै राम्रो हो ।
यसका लागि अब भाइबहिनीहरू प्नि चनाखो हुनु प-यो है । वरपर कसैले नियमविपरीत फोहोर थुपार्ने काम पो गरिरहेका छन् कि । बालबालिकाले पनि आफ्नो बाल क्लबमार्फत यससम्बन्धी जनचेतना फैलाउन सक्छौँ । घरपरिवार मात्र होइन । समाजमा पनि सचेतना फैलाउन सक्छौँ । अनि भएन त हाम्रो घर वरपर सफा ।
(लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुनुहुन्छ )