• १२ असार २०८१, बुधबार

स्वरूप फेर्दै पोखरा बसपार्क

blog

सन्तोष सुवेदी

कास्की, असार २६ गते । जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षपछि पोखरा बसपार्कका रूप फेरिन लागेको छ । पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा रहने गरी २०३२ सालमा जग्गा अधिग्रहण गरिएको हो । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जाने बाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २०५ रोपनी जग्गा ८१ रोपनीमा खुम्चिएको छ । व्यवस्थित बसपार्क निर्माणका लागि नाली र ग्राबेल गरी सम्याउने काम अगाडि बढेको छ । 

पोखरा महानगरपालिका–९ स्थित यो बसपार्कमा विगतको जस्तो हिलो र धुलो भोग्नुपर्ने छैन । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क हिलो र धुलोमुक्त हुन लागेको जानकारी दिनुभयो । “नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम भएसँगै बसपार्क हिलो र धुलोमुक्त हुँदैछ,” उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले अब नयाँ रूप लिँदैछ ।”

महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कका रूपमा विकास गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई एकैसाथ सिटी बसपार्ककै रूपमा विकास गरिँदै छ । 

गएको १० वर्षमा पोखराको जनसङ्ख्या बढेर दोब्बर भएकाले पोखरा आउजाउ गर्नेसहितको जनसङ्ख्या करिब २० लाख रहेको अनुमान गरिएको छ । गत जेठ २५ मा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख आचार्यले शिलान्यास गर्नुभएको थियो ।