• १३ साउन २०८१, आइतबार

राप्ती नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा सूचना जारी

blog

राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु पार, तस्विर - सिराज खान ।

सिराज खान 

नेपालगञ्ज, असार २५ गते । शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।  

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनाैं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

शनिबार दिउँसो साढे १२ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ३६ सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । शनिबार विहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । 

राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिव ४ देखी ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ५ मिटर पुग्ने वित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् । 

भारतले अन्र्तराष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ५.३६ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । 

उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । 

आवश्यक परेमा हेलिकोप्टरलगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताउनुभयो ।