• ८ वैशाख २०८१, शनिबार

नाइरोबी फ्लाइको कीराबाट निस्केको सङ्क्रमणले भए पाँच जना बिरामी

blog

काठमाडौं, असार २५ गते । पछिल्लो केही दिनदेखि नेपालमा ‘नाइरोबी फ्लाई’ कीराको टोकाइबाट गम्भीर छालाको समस्या भएको सूचना सार्वजनिक भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा अहिलेसम्म यस कीराबाट निस्केको सङ्क्रमणले अहिलेसम्म पाँचजना बिरामी अस्पताल पुगेको विवरण प्राप्त भएका छन् ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले हालसम्म झापा, कञ्चनपुर र काठमाडौंमा गरी यो कीराको सङ्क्रमणबाट पाँच बिरामी अस्पताल पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म नाइरोबी फ्लाईको सङ्क्रमण भएको हाम्रो सिस्टममा रिपोर्ट भएका छैनन्, तर महाशाखाले विभिन्न जिल्ला अस्पतालमा सोधपुछ गर्दा अहिलेसम्म नाइरोबी फ्लाईको सङ्क्रमणले गर्दा पाँच जना बिरामी अस्पतालमा पुगेको खबर प्राप्त गरेका छौँ ।”

डा. दाहालले प्राप्त गरेको सूचनाअनुसार यस कीराको टोकाइबाट नभई शरीरमा बसेको कीरा मिचिएर वा कीरा शरीरबाट निकाल्दा निस्केको एसिडयुक्त ¥यालबाट सङ्क्रमण भएको छालारोग विशेषज्ञले अनुमान गरेका छन् । छाला रोग विशेषज्ञ डा. दाहाललाई दिएको जानकारी अनुसार उक्त सङ्क्रमण कीरा बसेको १२ देखि २४ घण्टामा छालामा सङ्क्रमण देखिने र सामान्य मलम लगाएपछि बिस्तारै आफैँ निको हुँदै जान्छ ।

उहाँले भन्नुभयो, “यो कीराले टोकेर हुने समस्या होइन, यदि शरीरमा कीरा बस्यो र कीरा म¥यो र त्यहाँबाट जबरजस्ती निकाल्दा यसबाट निस्कने एसिडले गर्दा छालामा समस्या देखिने गर्छ। यसको असर १२ देखि २४ घण्टामा देखिने र बिस्तारै आफैँ निको हुँदै जाने गर्छ ।”

छालामा रातो दाग देखिने, घाउ जनै खटिरा जस्तै स–साना फोका आउने, चिलाउने पोल्ने जस्ता समस्या अन्य कारणले हुने हुँदा उक्त कीराको सङ्क्रमणले गर्दा भएको हो की, अन्य कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको डा. दाहालले जानकारी दिनुभयो ।

नाइरोबी फ्लाईको एसिडबाट हुने यो सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा नसर्ने हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

लामो लुगा लगाउने, कीरा बसिहाल्यो भने त्यसलाई नमिच्ने र बिस्तारै कुनै कागजको सहायताले निकाल्ने, कीराले छोएको ठाउँमा राम्रोसँग साबुन पानीले धुँदा यसबाट बच्न सकिने उहाँको भनाइ छ ।

यो कीरा रातिको समयमा सक्रिय हुने हुँदा झ्याल ढोका बन्द गरेर सुत्दा झुलको प्रयोग गर्ने र लामा बाहुला भएका कपडा लगाउन डा। दाहालको सुझाव छ । यस्तो समस्या अघिल्लो वर्षहरुमा पनि केही जिल्लाहरुमा देखिएको उहाँको भनाइ छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।