• ४ मंसिर २०८२, बिहिबार

अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी, सेवा प्रवाहमा समस्या

blog

मेल्लेख गाउँपालिकाकाे प्रमुख प्रशासकीय भवन । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर ४ गते ।
अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

मल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार, कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उहाँले बताउनुभयो ।

मेल्लेख गाउँपालिकामा करारमा कार्यरत रेडियोग्राफर एक जना, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो ।

अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएपछि सेवा प्रभावहमा जटिलता थपिएको जनाइएको छ । कर्मचारी अपुग भएपछि कार्यालयका नियमित कामकाज प्रभावित बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो । उहाँका अनुसार, हाल आँखा उपचार केन्द्र बन्द भएको छ भने, मेडिकल अधिकृत नहुँदा अहिले एक जना अहेबको भरमा सेवा सुचारु भइरहेको छ ।

“कर्मचारी अपुग त भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘सरकारको नीति नमानौँ भने पनि भएन, सेवा प्रवाहमा भने समस्या भएको छ ।”

अहिले कार्यालयको सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो । खाली दरबन्दीहरूको प्रक्रिया पुर्‍याएर परीक्षाको माध्यमबाट आवश्यक कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो ।