• १२ साउन २०८१, शनिबार

अमरनाथमा भीषण वर्षाका कारण १६ जनाको मृत्यु, ४० बेपत्ता

blog

नयाँदिल्ली, असार २५  गते । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न भीषण वर्षा हुँदा  १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्धारमा कुनै कठिनाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायुसेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्पर स्थितिमा छन् ।

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।