काठमाडौँ, मङ्सिर २६ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३:३० बजे भिडन्त हुँदैछ ।
साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हाल्नुभएको छ । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा छ।
रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो ।

जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन् । लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण रहेको छ । जसले जित हात पार्यो । त्यसले खेल मात्रै जित्ने छैन । च्याम्पियन बन्दै इतिहास लेखाउने छ ।
इतिहास लेखाउनका लागि दुवै टोली एक जित मात्रै पछाडि छन् । रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताएका छन् । उहाँले भन्नुभयो , “गत वर्ष फाइनलनमा चुकेका हौँ । सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो ।”

लायन्सका कप्तान पौडेलले आफूहरू च्याम्पियन बन्नका लागि सबै पक्षबाट तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ । हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ ।”
रोयल्समा प्रभाव पार्न सक्ने खेलाडी
सुदूरपश्चिम रोयल्समा बलर अभिनाश बोहरा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हुनुहुन्छ । जुन उहाँको हालसम्मको प्रदर्शनले देखाएको छ । जारी सिजनमा भएका आठ खेलमा उहाँले १६ विकेट लिँदै सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा स्थान बनाउनुभएको छ । उहाँलाई खास गरेर ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिन्छ ।
विदेशी खेलाडी हर्मित सिंह रोयल्सका लागि लयमा देखिएका खेलाडी हुनुहुन्छ । अलराउन्डर खेलाडी सिंहले हालसम्म १२ विकेट लिनुभएको छ । उहाँ उत्कृष्ट बलरको छैटौँ नम्बरमा हुनुहुन्छ । उहाँले ब्याटिङबाट एक अर्धशतकसहित १२३ रन बनाउनु भएको छ ।
रोयल्सलाई फाइनल पुर्याउन ओपनर ब्याटर विनोद भण्डारीको भूमिका महत्वपूर्ण छ । उहाँ सर्वाधिक रनकर्ता सूचीमा दोस्रो नम्बरमा हुनुहुन्छ । भण्डारीले आठ खेलबाट २६४ रन बनाउनु भएको छ । जसमा दुई अर्धशतक रहेका छन् । उहाँ यो संस्करणमा दुई पटक प्लेयर अफ द म्याचसमेत हुनुभएको छ ।

कप्तान ऐरी प्रभाव पार्न सक्ने खेलाडी हुनुहुन्छ । उहाँ सबै पक्षबाट अब्बल मानिनुहुन्छ । उहाँले हालसम्म बलिङमा आठ विकेट र ब्याटिङमा १४९ रन बनाउनुभएको छ । एउटा खेलमा प्लेयर अफ द म्याचसमेत घोषित हुनुभएको छ । स्कट कुग्गेलेइजनप नि बलिङबाट राम्रो प्रभाव पार्न सक्ने देखिन्छ । ओपनर बलरको भूमिकामा रहेको उहाँले हालसम्म १० विकेट हात पार्नुभएको छ ।
लायन्सका प्रभाव पार्न सक्ने खेलाडी
कप्तान पौडेल लुम्बिनीका लागि सबैभन्दा लयमा देखिनुभएको छ । उहाँले ब्याट बल दुवै क्षेत्रबाट राम्रो गर्नुभएको छ । उहाँ सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो नम्बरमा हुनुहुन्छ । उहाँले नौ खेलबाट २६० रन बनाउँदा दुई खेलमा प्लेयर अफ द म्याच समेत बन्नुभयो ।
सर्वाधिक रनकर्ताको पाँचौँ नम्बरमा रहनुभएका लुम्बिनीका विदेशी खेलाडी डार्सी सर्ट लयमा हुनुहुन्छ। उहाँले नौ खेलबाट २४२ रन जाेड्दा एउटा अर्धशतक बनाउनु भएको छ। युवा बलर शेर मल्लले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई फाइनल पुर्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ । सर्वाधिक विकेटकर्ताको तेस्रो नम्बरमा रहँदै उहाँले नौ खेलबाट १४ विकेट लिनुभएको छ। उहाँ दुई खेलमा म्याच वीनर बन्दै प्लेयर अफ द म्याचसमेत बन्नुभयो ।

उत्कृष्ट बलरको छैटौँ नम्बरमा रहेका रुबेल ट्रम्पेलम्यान नौ खेलबाट १२ विकेट हात पार्नुभएको छ। उहाँले राम्रो प्रदर्शन गर्दै ६५ रन हिर्काएउनु भएको छ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । एपिएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथोले १५ लाख प्राप्त गर्नेछन् ।
