• २० वैशाख २०८१, बिहिबार

भिडियो कुराकानी

अभिनेत्री पुनको सगरमाथा अनुभव

blog

काठमाडौं, असार २५ गते । दिया पुनको हिमाल चढ्ने रहर सन् २०१८ बाट शुरु भएको हाे । सानैदेखि पासाङ ल्हामू शेर्पाको कथा सुन्दै हुर्किनुभएका उहाँको हिमालसँग छुट्टै लगाव थियो । यसबाहेक बेलायतमा हुर्के बढ्ने क्रममा जो कोहीको प्रश्न सगरमाथा किन नचढेको ? भन्ने हुन्थ्यो । चढेको छैन, भन्दा त्यहाँका मानिसहरु अचम्म पर्थे ।

सायद, नेपालीले सगरमाथा चढ्नैपर्छ भन्ने सोच त्यहाँका मानिसको थियो । सगरमाथा आरोहणको यात्रा आफूले सोचेभन्दा फरक भएको पुनको अनुभव छ । सुरुमा बेस क्याम्पको यात्रा सफल भयो । यात्रामा लेक नलागोस् भनेर हरेक क्याम्पमा बास बस्दै अगाडि बढ्नुपर्ने हुन्छ । पुनलाई क्याम्प २ मा जाँदा चिसो लाग्यो र कमजोर महसुस भयो र क्याम्प ३ मा हिँड्ने क्रममा चार पाइलाभन्दा अगाडि हिँड्न नसकेको अनुभव उहाँले सुनाउनुभयो । “अक्सिजन लेभल जम्मा ४१ प्रतिशत मात्र भएकाले मलाई क्याम्प २ मा आराम गर्न पठाइयो तर अस्क्सिजन लेभल ठाउँमा आएन र पहिलो प्रयास असफलताका साथ हेलिकोप्टरमा काठमाडौं फर्किएँ,” उहाँले भन्नुभयो ।


निरशताका साथ लुक्लामा तीन दिन र काठमाडौंमा चार दिनको आरामपछि फेरि दोस्रो पटक उहाँ सगरमाथा आरोहणको लागि जानुभयो । विभिन्न समस्यालाई पार गर्दै दोस्रो पटकमा सगरमाथा आरोहण गरेको उहाँ बताउनुहुन्छ । पुनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग सङ्कलन गर्नुभएको छ । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उहाँ कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट छन् ।

'‘कोभिडका बेलामा धेरै नर्सहरुको मानसिक स्वास्थ्यमा असर परेको थियो । मेरो एक जना साथीले नर्स पेशा नै त्याग्नुभयो । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीका लागि केही सहयोग गरौँ भन्ने उद्देश्यका साथ आरोहण  गरेकी हुँ'', उहाँले भन्नुभयो । चलचित्र ‘वीर विक्रम’ बाट नेपाली चलचित्रमा प्रवेश गर्नुभएका नायिका पुनले ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’ चलचित्रमा काम गर्नुभएको छ ।

भिडियाे : मनाेजरत्‍न शाही र केशब गुरुङ