• १२ असार २०८१, बुधबार

गाउँपालिका जान दुई जिल्ला पार गरेर जानुपर्ने सकस

blog

कालीगण्डकी करिडोरमा गएको पहिरो पन्छाउँदै गरेको डोजर, तस्विरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

 तम्घास, असार २४ गते ।  जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती भोग्नु परेको हो  ।

असार १६ गतेदेखि सडक माथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको  छ । गाउँपालिकाको केन्द्र पुर्तिघाट जानका लागि स्याङजाको सेतिबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै कालीगण्डकी नदीको पुल तरेर जानुपर्ने बाध्यता आएको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर लामो समयसम्म अवरुद्ध हुनु दुःखद भएको रानाले बताउनुभयो ।

यस्तै, गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाँदा आफूहरुले निकै सास्ती भोग्नु परेको अधिवक्ता हीरा कुँवरले बताउनुभयो ।

आफूहरु बिहान ७ बजे सदरमुकामबाट यात्रा गरे पनि साँझ करिब ४ बजेमात्र विभिन्न झन्झटहरु भोग्दै दुःखका साथ गाउँपालिकाको केन्द्र पुर्तिघाट पुगेको बताउनुभयो ।

सडक सहज भएमा सदुमुकामदेखि करिब ४ घण्टाको समयमा गाउँपालिकाको केन्द्र पुर्तिघाटमा पुग्न सकिन्छ ।

सडक अवरुद्ध हुँदा हर्मिचौ, अर्वेनी, जयखानीका सेवाग्राहीहरु गाउँपालिकाबाट सेवा लिन बञ्चित भएका छन् भने सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।

नेपाली सेनाले बम विष्फोट गराएर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा सामान्य पानी परे पनि पहिरो खस्ने समस्याले विगतदेखि नै आफूहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुनासो गर्नुभयो ।

विगतका वर्षहरुदेखि नै यो समस्याले आफूहरुलाई सताएको भन्दै पहिरो पन्छाउनमा गाउँपालिकाको धेरै बजेट खर्चिनु परेको उहाँको भनाइ छ । स्थानीय सरकार भएकाले पनि  बाटोलाई पहिरोका कारण अवरुद्ध राख्न नहुने भएकाले पहिरो पन्छाउनुपर्ने र धेरै रकम खर्चिन बाध्य भएको थापाले बताउनुभयो ।

पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलसम्म छुट्ने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिकासम्म जान पनि समस्या पर्ने गरेको यात्रुहरुले बताउँदै आएका छन् । 

कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले पहिरो पन्छाउनका लागि मेसिन फिल्डमै भएको र काम भइरहेको उहाँको भनाइ छ ।

केही समय अगाडिदेखि करिडोरको पहिरो पन्छाउने कार्य करिडोरको कार्यालयले गर्ने  व्यवस्था मिलाएको थियो । यसअघि कार्यालयमा मर्मत सम्भारका लागि बजेटको व्यवस्था नभएकाले समस्या भएको र हाल बजेटको व्यवस्था भएकाले समस्याको समाधान भएको अधिकारीको दाबी छ ।