• १२ वैशाख २०८१, बुधबार

तरकारीले बजार नपाउँदा लाखौँ रुपियाँको तरकारी बोटमै कुहिए

blog

किसानले उत्पादन गरेको करेलाले बजार नपाउँदा बोट मै कुहिएको अवस्था, तस्विर– गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, असार २४ गते । सुनवल नगरपालिकाको घैयाबारीमा किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा तरकारी बोटमै कुहिएर गएको छ । सुनवल नगरपालिकाको वार्ड नम्बर ४ स्थित घैयाबारीमा तेजबहादुर सुनारी, तिलबहादुर सुनारीलगायका किसानहरुले गरेको व्यवसायिक तरकारी खेतीले बजार नपाउँदा १५ कठ्ठामा लगाइएको तरकारी बोटमा नै कुहिएर फालिएको छ । 

सुनवलको समथर भूभागदेखि केही माथिल्लो भागमा चुरे पहाडको फेदीमा रहेको घैयाबारीमा किसानहरुले पछिल्लो दुई वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । यस वर्ष तरकारीले बजार नपाउँदा करेला, घिरौला, बोडीलगायतका तरकारीले बजार नपाउदा लाखौं रुपियाँको क्षति बेहोर्नु परेको सुनवल–४ घैयाबारीका तरकारी उत्पादक किसान तिलबहादुर सुनारी मगरले बताउनुभयो । 

किसान सुनारी मगरका अनुसार दुई कठ्ठामा करेला, दुई कठ्ठामा बोडी एवं एक कठ्ठामा घिरौला लगाइएको तरकारीको मूल्य बजारमा अत्यन्तै न्यून रहेको वा बजार नै नपाएकाले करिब एक दर्जन क्विन्टल तरकारी कुहेर फाल्नुपरेको छ । बजारका व्यापारीहरुले तरकारी उत्पादक किसानहरुसँग ५÷१० रुपियाँ किलोको दरमा तरकारी खरिद गर्ने र बजारमा ग्राहकहरुसँगबाट ७० देखि एक सय रुपियाँसम्मको मूल्यमा बेच्ने गरिएको पाइएको छ । बजार अनुगमनको जिम्मेवारी स्थानीय सरकारलाई भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा किसानहरु मर्कामा परेका छन् । 

सात घरपरिवार बसाई गर्दै आएको सुनवलको घैयाबारीमा पाँच घर परिवारले पछिल्लो दुई वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । यस वर्ष तरकारीले बजार नपाउँदा घैयाबारीका किसानहरुको न्यूनतम चार लाख रुपियाँको नोक्सान भएको बताइएको छ ।