• १२ असार २०८१, बुधबार

गुल्मी कारागारमा तेब्बर कैदीबन्दी, दरबन्दी भए पनि स्वास्थ्यकर्मी छैन

blog

जिल्ला कारागार कार्यालय गुल्मी, तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २४ गते । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा झन्डै तेब्बर कैदी बन्दीहरु बस्न बाध्य छन् ।

२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ७३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका जेलर अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार पुरुष कैदी ४३ जना, महिला कैदी पाँच जना, थुुनुवा पुरुष २२ जना र थुनुवा महिला तीन जना गरी जम्मा ७३ जना कारागारमा कैदीबन्दीहरु रहेको बताउनुभयो  । 

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको सूचना अधिकारी सीता भण्डारीले गुनासो गर्नुभएको छ । कैदीबन्दीहरुलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उद्योगहरु खोल्नका लागि पनि समस्या भएको छ ।

भवन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिँदै गएको भण्डारीले बताउनुभयो । हालसम्म दुःख गरेर चलाउँदै आएको र अब कैदीबन्दीहरु थपिए समस्या बिकराल बन्दै जाने उहाँको भनाइ छ ।  

सुधारगृह जस्ता हुने पर्नेमा दण्डगृह जस्तो भयो ः नागरिक समाज

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो कारागार हुनुपर्नेमा दण्डगृहको रुपमा परिणत भएको बताउनुभयो । 

कारागारमा पर्याप्त खेलमैदान, उचित वासस्थान र उद्यमी गर्नेहरुका लागि उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उहाँको भनाइ छ । भवन जीर्ण हुनु र कैदीबन्दीहरुको स्वास्थ्यप्रति सरोकारवाला निकाय मौन रहनुले कैदीबन्दीहरुप्रति सामान्य मानवीय व्यवहार समेत नगरेको पाण्डेले बताउनुभयो ।

स्वास्थ्यकर्मीको दरबन्दी छ, स्वास्थ्यकर्मी छैन

जिल्ला कारागार गुल्मीमा वरिष्ठ अहेवको दरबन्दी छ तर लामो समयदेखि दरबन्दीमा भएका स्वास्थ्यकर्मी मन्त्रालय काजमा हुनुहुन्छ ।

दरबन्दी भए पनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई स्वास्थ्यमा समस्या आउँदा समस्या आउने गरेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नहुनु र २०७७ साल जेठदेखि हालसम्म स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरुलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको उहाँको भनाइ छ ।

जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यालयले जनाएको छ । जसमा अधिकृत एक, वरिष्ठ अहेव एक, नायव सुब्वा एक, खरिदार एक, सहायक लेखा प्रमुख एक, सहायक कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी चार जना गरी १० जनाको दरबन्दी रहेको छ । 

कारागारमा सलेपको दरबन्दी रिक्त छ भने खरिदार जिल्ला प्रशासन कार्यालय गुल्मीमा काजमा हुनुहुन्छ ।

कारागार कार्यालयको भवन जीर्ण भइराखेकाले कारागार व्यवस्थापनका लागि दीर्घकालिन गुरुयोजना बनाएरै अगाडि बढ्नु पर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको भनाइ छ ।