• १२ पुस २०८१, शुक्रबार

बाजुराको बूढीगंगा नगरपालिकामा ६६.७५ मत खस्यो

blog

बूढीगङ्गा नगरपालिका वडानम्बर ८ गिरी खेल्ने आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : शेरबहादुर सार्की

प्रकाशविक्रम शाह/शेरबहादुर सार्की

धनगढी, असार २३ गते । बाजुराको बूढीगंगा नगरपालिकामा आज भएको निर्वाचनमा नौ हजार  ११७ अर्थात ६६.७५ प्रतिशत मत खसेको छ । बूढीगंगामा १३ हजार ६५९ जना मतदाता रहेका थिए ।

वैशाख ३० गते भएको मतदान बदर भएपछि सो नगरपालिकाका १० वटै वडामा आज फेरि मतदान भएको थियो । 

मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् । साँझसम्म मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालय कुल्देमाडौ ल्याउने काम भइरहेको  निर्वाचन अधिकृत हस्तबहादुर कडायतले बताउनुभयो । 

सर्वदलिय बैठकको निर्णय पछि मात्रै आजै गणना गर्ने कि भोली विहान गर्ने भन्ने निश्चित हुने बताइएको छ  । विहान ७ बजे शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । 

चुनावमा काँग्रेसका रंगबहादुर खाती र नेकपा (एमाले) का रामबहादुर बाँनियाबीच नगर प्रमुख पदमा मुख्य प्रतिस्पर्धा रहेको छ । यस्तै उपप्रमुखमा काँग्रेसका रिता शाही र एमालेका माया कुँवर उम्मेदवार छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार जसअनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 

वडानम्बर ९ को त्रिशक्ति उच्चमावि तल्लकोटमा एमाले र नेकपा (एकीकृत समाजवादी) का वीचमा सामान्य विवाद भएर झण्डै आधाघण्टा मतदान रोकिए पनि पछि सहमतिमै फेरि मतदान कार्य सञ्चालन भएको थियो । विवादका क्रममा समाजवादीबाट गठवन्धनका वडा अध्यक्षका उम्मेदवार भरत थापा र उहाँकी भाइबुहारी सीता थापा घाइते हुनु भएको छ । बढी घाइते भएकी सीताको मतगणना स्थलमै उपचार गरिएको छ ।