• १३ मंसिर २०८२, शनिबार

मिलारेपाको अवतार

blog

नीलो, सेतो, रातो, हरियो र पहेँलो पञ्चरङ मिश्रित फरफराइरहेको लुङ्दारलाई हावाको झोकाले आफ्नै गतिमा गतिशील बनाइरहेको छ । त्यही हावाको वेगलाई स्पर्श गर्दै यतिबेला आममानिस मिलारेपाको अवतारलाई दर्शन गर्न आतुर छन् । बौद्ध धर्म गुरु, अनुयायीदेखि साधारण मान्छेले सुरुवातमै मिलारेपालाई कलाकार मुकेश श्रेष्ठको सुन्दर थाङ्का सिर्जनामा नियाल्छन् । त्यस्तै कला सिर्जना नियाल्दै गर्दा मिलारेपाको साधारण जीवनदेखि, योगी, अध्यात्म र सिद्धि प्राप्तसम्मको यात्रालाई अझै नियाल्न आतुर भएका रङ्गमञ्चको अँध्यारो परिवेशमा प्रवेश गर्छन् । मञ्चमा ठडिएका पञ्चतत्व (जल, पृथ्वी, आकाश, वायु र अग्नि) अङ्कित दज्र्यु अनि बौद्ध धर्म, दर्शनलाई महसुस गराउने सङ्गीतमय ध्वनि र मोलमपाठको लयमा उही शान्त परिवेश । उपस्थिति सबैलाई आध्यात्मिक लयमा डो¥याउ“दै तिब्बतका सबैभन्दा प्रसिद्ध महायोगी, सन्त र कवि मिलारेपाको जीवनकथा नाटक ‘मिलारेपा’ मार्फत थालनी हुन्छ । त्यसपछि मिलारेपाले जीवनमा भोगेका उत्तारचढावसँगै दुःख, कष्ट, रोदन, सङ्घर्षपछिको आध्यात्मक लयको बाटोमा सबैले आफैँले आफैँलाई नियाल्छन् र एउटा मान्छे हुनुको अर्थ बोकेर महायोगीलाई दर्शन गरेर बाहिरिन्छन् । 

मण्डला थिएटर नेपालको प्रस्तुतिमा लेखक चाङ ङ्योन हेरुकको कथालाई नाट्य रूपान्तरण गरी नाटकको स्वरूपमा रङ्गकर्मी रविन दोङ तामाङले ल्याउनुभएको हो । यसलाई रङ्गमञ्चमा उतार्न रङ्गकर्मीद्वय बुद्धि तामाङ र उमेश तामाङले निर्देशन गर्नुभएको हो । नाटकको कथा मूलतः बौद्ध धर्म गुरु मिलारेपाको जीवनीलाई नै केन्द्रमा राखेर प्रस्तुत गरिएको छ । मिलारेपाको जन्म, कर्म, पश्चाताप, वैरागदेखि मोक्ष प्राप्तिका लागि अटल दृढता, सङ्घर्ष, निरन्तरता, गुरुप्रतिको श्रद्धा, सांसारिक मोह त्याग, कठिन तपस्या, सिद्धि प्राप्तिसम्मको यात्रा नै ‘मिलारेपा’ नाटकको विषयवस्तु हो । मोक्ष प्राप्तिका लागि मानिसमा धैर्य, उत्साह, श्रद्धा, प्रज्ञा एवं साधना किन र कति चाहिन्छ भन्ने मूल मर्मलाई समकालीन समयलाई ज्ञात गराउन खोज्नु नै नाटकको ध्येय हो । त्यसर्थमा ‘मिलारेपा’ यो समयका लागि फगत मनोरञ्जन दिन मञ्चित नाटक मात्र होइन, यो त मानव सृष्टिकाल र सभ्यताको कथालाई विलिन गराउन तत्पर मानव समुदाय अनि आफैँले आफैँलाई बिर्सेर संसार हाँक्नलाई तम्तयार युगका लागि उज्यालो दीप हो । मानिसले आफूलाई ढुङ्गेयुगदेखि डो¥याउँदै विज्ञानप्रविधिको समृद्धशाली र चामत्कारिक पहुँचमा पु¥याएको छ । विकास र परिवर्तनको आयाममा मानिससँग आज भौतिक चिजबिज सबथोक छ । यद्यपि ती भएका र आफैँबाट आर्जित भएका सम्पूर्ण उपलब्धिलाई पृथ्वीको कुनै कुनामा बसी ‘म’ बनेर सोच्ने या आफैँप्रति प्रश्न गर्ने फुर्सद कसलाई छ ? मानव सभ्यताको प्राप्तिमा सधैँ एकैनासले सकारात्मक बाटोको लय मात्र त पक्कै समातेन होला ? प्रत्येकले बा“चेको जीवन र जगत्मा असलस“गै खराब त्रुटि पनि होलान् । तिवै त्रुटिलाई एक पटक मौन समीक्षा गरेर आफ्नो कर्मलाई नियाल्न मिलारेपाको जीवनले सिकाउँछ । 

आफ्नो हिंस्रक कर्मबाट गहिरो पश्चाताप भई कर्मको शुद्धीकरणका लागि  मिलारेपाको कठोर सङ्घर्ष, तपस्या र बुद्धत्व प्राप्तिको असाधारण यात्रालाई रङ्गमञ्चमा उतारेर आममानिसलाई जीवनकर्मको बोध गराउन जमर्को गर्नु पक्कै साधारण कर्म होइन । बुद्धदर्शन, शास्त्र, मिलारेपाको जीवनयात्रा, तिब्बती परिवेश र लयलाई सङ्गीत होस् दृश्य, वेशभूषा, मञ्चीय स्वरूपमा उतार्न त्यति सहज छैन । यी सबै पक्षलाई ध्यानमा राख्दै महायोगी सन्त मिलारेपाको जीवनी र दर्शनलाई नाटकका सम्पूर्ण टिमले न्याय गर्ने भरपुर प्रयास गरेका छन् । 

नेपालको  रसुवानजिकै  तिब्बतको  सिमाना  केरुङ  क्षेत्रको  क्याङाचा  भन्ने ठाउँमा जन्मेका थोपागा नै पछि सिद्ध महायोगी भट्टारक मिलारेपाको  नामले प्रसिद्ध भए । सभ्रान्त परिवारमा जन्मिएका थोपागाका बुवाले मृत्युअघि नै इच्छापत्र लेखी सबै सम्पत्ति काका र फुपूलाई पछि फिर्ता गर्ने सर्तमा जिम्मा लगाएका हुन्छन् । बुवा शेराब ग्याल्छेनको मृत्युपछि दुःख झेलेका उनका परिवारलाई काका र फुपूले सम्पत्ति फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिशोध लिन थोपागालाई आमाले कालातन्त्र विद्या सिक्न पठाउँछन् । प्रतिशोध स्वरूप नै थोपागाले असिना, आँधीबेरी, घनघोर वर्षा गराई गाउँ ध्वस्त मात्र होइन, ३५ जनाभन्दा बढी मान्छेको नरसंहार नै गराउँछन् । काका र फुपूलाई प्रतिशोध लिँदा निर्दोष मान्छेको मृत्यु र गाउँ नै ध्वस्त हुन्छ । यसरी आफ्नो कुकर्मबाट पश्चातापमा परेका थोपागा पापबाट मुक्त हुन धर्मको खोजीमा लाग्छन् । थोपागाको मुक्तिको खोजी, गुरु मार्पा लोचवाको शरण, त्यहाँ धर्म प्राप्तिका लागि थोपागाले पार गरेको कठिन परीक्षा, ज्ञान प्राप्ति, सांसारिक त्याग, विभिन्न पर्वतमा कठोर तपस्या र अन्त्यमा बोधी प्राप्त गरी मिलारेपाको स्वरूपमा आउनुअघिसम्मको यात्रा नै नाटक ‘मिलारेपा’ को सार हो । 

थोपागाको पारिवारिक जीवन, बाल्यकालभन्दा उनको आध्यात्मिक यात्रामा आमदर्शक पछिल्लो बोधी प्राप्ति यात्रातिर बढी जोडिन पुग्छन् । थोपागाको जन्म, बुवाको इच्छापत्र, मृत्यु, काका र फुपूले उनीहरूप्रति गरेको दुव्र्यवहार मञ्चमा यति छिटो अघि बढ्छ कि आमदर्शकले त्यसलाई महसुुस गर्न नपाउँदै दृश्य अगाडि बढ्छन् । काका र फुपूको चर्को वचन र क्रुद्ध ध्वनिले दर्शकमा सुरुवातमै बसेको आध्यात्मिक लय केही बिथोलिन पुग्छ । जुन लय गाउँमा आएको प्रलय र निर्दोष मानिसको मृत्युले पनि बिथोलिएको हुँदैन । थोपागाले मुक्तिका लागि धर्मको खोजीपछिको यात्रामा दर्शक फेरि डुबुल्की मार्न पुग्छन् । नाटकले थोपागाभन्दा गुरु मार्पा लोचवाको शरणमा पुगेपछिको बनेको थुचेन, त्यसको कठिन यात्रा, समाधिदेखि बोधि प्राप्तिसम्मको पाटोलाई निकै नै समय खर्चेर दृश्य प्रस्तुत गरेको छ । मान्छेलाई जीवन र जगत्देखि आध्यात्मिक बाटोमा तानेर आत्मानुभूतितर्फ उन्मुख गराउन ती दृश्यहरू सफल भएका छन् । गुरुआमा दाग्मेमा (रोहिनी लामा) को मातृप्रेमले सांसारिक मोहतिर अल्झाउन खोज्दा यतातिर गुरु मार्पा (विजय तामाङ ब्लोन) मार्फत फेरि नाटकले गुरु श्रद्धा र भक्तितिर जोड दिएको छ । थोपागा, थुचेन हुँदै महान् तपस्वी योगी मिलारेपाको चरित्रसम्ममा कलाकार रूपेश लामाको शारीरिकदेखि भावनात्मक गहिराइका दृश्य र शब्दहरू हृदयका कुना कुनासम्म छुन्छन् । यसले मिलारेपाको असाधारण यात्रालाई देखाएर आमजगत्लाई जीवनप्रति बोध गराउन खोज्नु नाटक सशक्त जमर्को हो जस्तो लाग्छ । एक जना मानवले आफैँले गरेको दुष्कर्म महसुस गरेपछि त्यसबाट छुटकारा पाउन गरेको कठिन यात्रा र भोगाइ सजिलो छैन । यात्रा जति नै चुनौतीपूर्ण भए पनि यदि त्यसमा दृढता भएमा आफ्नै जीवनकालमा मोक्ष प्राप्त गर्न सकिन्छ । संसारलाई चिन्नुभन्दा आफैँलाई चिनेर आफू बन्ने यात्राको एउटा अभूतपूर्व र आध्यात्मिक बाटोको सारलाई नाटकले प्रस्तुत गरेको छ ।  तपस्या र समाधिसम्मको यात्रामा कलाकार लामाको शरीरको स्वरूप, उस्तै परिवेश झल्काउने डिजिटल दृश्यले साँच्चिकै दर्शक मिलारेपाको समयमा पुग्छन् । त्यसमा प्रयुक्त बौद्ध धर्मको मन्त्र, मोलम, पाठ र डाकिनीको नृत्यसँगैको भावभङ्गीमा मिलारेपाको समय र जीवन झल्कछन् । दृश्य, सङ्गीत र ध्वनिको अधिकतम प्रयोगमा मिलारेपाको प्रत्यक्ष साक्षात्कार गर्न पाएको अनुभूति दर्शकले गर्न पाउँछन् । 

नेपाली लोकपरम्परा, सांस्कृतिक पर्व, नृत्यसँगै जोडिएको नेपाली नाटकको जग मल्लकालीन समयमा डबली हुँदै लेख्य परम्परातिर अघि बढ्यो । लेख्य परम्परामा पनि नेपाली नाटक अनूदित रूपमै आए । शक्तिवल्लभ अर्यालद्वारा संस्कृत भाषामा लेखिएको नाटक ‘हास्यकदम्ब’ लाई विसं १८५५ मा अर्यालले नै नेपाली भाषामा रूपान्तरण गरेका थिए ।

त्यसपछि भवानीदत्त पाण्डेको नेपाली अनुवाद नाटक ‘मुद्राराक्षस’, मोतीराम भट्टका ‘शकुन्तला’, ‘प्रियदर्शिका’ जस्ता नाटक मञ्चन भए । पहलमानसिंह स्वाँरले विसं १९६३ मा 

‘अटलबहादुर’ नेपाली नाटक लेखनपछि नेपाली मौलिक नाटक लेखनको सुरुवात भएको पाइन्छ । राणाकालीन, शाहकालीन हु“दै दरबारदेखि आमजनताको माझमा पुगेको नेपाली नाट्य क्षेत्रले बालकृष्ण समको नाटक मुटुको व्यथा (१९८६) र मुकुन्द इन्दिरा (१९९५) ले आधुनिक मोडतिर बेग्लै क्रान्ति नै ल्यायो । त्यसपछि गोपालप्रसाद रिमालको ‘मसान’ जस्ता नाटकले यथार्थवाद र मनोविज्ञानलाई समेत समावेश ग¥यो । गोविन्दबहादुर गोठालेदेखि सत्यमोहन जोशी, मनबहादुर मुखिया, सरुभक्त, अशेष मल्लसम्मकाले नेपाली नाटकमा समकालीन समय, समाज, भोगाइ, यथास्थितिको बोध गराउँदै परिवर्तनको बिगुल फुक्ने काम गर्नुभयो । २०६० देखि ७० को दशकसम्मका आएका नाटकले समाज र जीवनस“गै समुदायको भाषा, परिवेशलाई ल्याए । नाटकले बोकेको समाज, मान्छे, जीवन र भोगाइका यात्रामा आमनाट्यप्रेमी मिसिँदै गए । त्यही प्रेमलाई आत्मास“ग साक्षात्कार गरी सत्मार्गमा लैजान अहिले नाटक ‘मिलारेपा’ उपस्थिति भएको छ । 


मिलारेपा जस्तो महान् तपस्वीको यात्रालाई नाटकका रूपमा ल्याउन र मञ्चमा उतार्न युवापुस्ताकै हिस्सालाई ओगट्ने रङ्गकर्मीको उपस्थिति बाक्लो छ । नाट्य रूपान्तरणदेखि निर्देशन, अभिनय, मञ्च व्यवस्थापन, कस्ट्युम, सङ्गीत, ध्वनि र प्रकाशमा पनि युवा संलग्न छन् । यसरी मिलारेपालाई नाटकीय ढङ्गमा प्रस्तुत गर्न उनको जीवनी र असाधारण यात्राबारे अध्ययनबिना त सम्भव पक्कै छैन । उनको जीवनलाई अध्ययन र मनन गरेर मञ्चमा उतार्नु स्वयम् युवा रङ्गकर्मीका लागि एक जना कलाकार, नाटककार, निर्देशक, कोरियोग्राफर, लाइट, ड्रेस डिजाइनर, सङ्गीतकार बन्नु मात्र होइन, यो त एउटा आत्मायात्रा हो भनी कलाकारले नै स्विकारेका छन् । मिलारेपाको जीवनको पीडा, प्रेम, द्वन्द्व, द्वेष, मुक्तिको अनुभूतिलाई आफ्नै आत्मामा खोजी कलाकारले गरेका छन् । त्यसर्थमा नाटक समूहकै भनाइमा ‘मिलारेपा केवल मनोरञ्जन र साधकको कथा मात्र होइन, भित्री लडाइ“को प्रतीक पनि हो । त्यसो त नाटकका लेखक तामाङले नाटक लेखनकै क्रममा झन्डै डेढ वर्षमा आफैँप्रति सयौँ प्रश्न गरेका छन् । बौद्ध धर्मका दर्शन र शास्त्रका कुरालाई भित्री मनले अध्ययन गर्दै मनन गरेका छन् । निर्देशकको यात्रा पनि उस्तै रह्यो । मिलारेपालाई मञ्चमा उतार्दै गर्दा निर्देशकद्वयले पनि आफ्नो मन र कर्मलाई समीक्षा गरेका छन् । यसरी मिलारेपालाई मञ्चमा ल्याउँदै गर्दा कसैले आचरण त कसैले आत्मबोधको बाटोलाई पहिल्याउँदै नाटक ‘मिलारेपा’ को रङ्गमञ्चमा जन्म भएको हो ।  

त्यसर्थ आज भौतिक संसारको प्रेममा डुबेका आममान्छेलाई मान्छे बन्न र आत्मबोध गराई आत्मानुभूतिको यात्रा गराउन नेपाली रङ्गमञ्चमा यसप्रकारका नाटक लेखिन र मञ्चन हुन अत्यन्तै जरुरी छ ।