• १२ साउन २०८१, शनिबार

भारतको सिलिगुडी हुँदै काठमाडौंसम्म बस सेवा सुरु

blog

लीलाराज खड्का

बिर्तामोड, असार २३ गते । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी हुँदै नेपालको सङ्घीय राजधानी काठमाडौँसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । पश्चिम बङ्गाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बङ्गाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहनेगरी उर्वन परिवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट नेपाल–भारत बस सेवा सुरु भएको हो ।

पश्चिम बङ्गालका यातायातमन्त्री फिरहाद हकिमले बुधवार एक कार्यक्रमबीच सो बस सेवाको उद्घाटन गर्नुभयो । ग्रीनलाइन कम्पनीको डब्लुबी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गर्दै नेपाल–भारत सीधा बस सेवा सुरु गरेको हो । भारतका धेरै नागरिकको काठमाडौंमा जागिर र व्यापार व्यावसाय बढ्दैगएको छ । 

नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको थियो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल–भारतबीच सीधा सम्बन्ध जोड्न नेपाल र भारतका प्रमुख सहरबाट सीधा बस सेवा सञ्चालन गर्ने सम्झौता भएको  व्यवसायीको भनाइ छ ।

यसअघि नेपाल–भारतमैत्री बस सेवा सञ्चालनअन्तर्गत नेपाली नम्बर प्लेटको सवारी साधनले निरन्तर सेवा प्रदान गरिरहेको छ । भारतीय नम्बर प्लेटको सवारी साधनले सेवा सुरु गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयो ।

दिउँसो भारतको सिलिगुडीबाट पूर्वीनाका काँकरभिट्टा आइपुगेको बसचालक, सहचालक, परिचालकसहित यात्रुलाई पूर्वीनाकामा यहाँका उद्योगी व्यवसायी, प्रहरी, जनप्रतिनिधि, होटल व्यावसायी र पत्रकारले स्वागत गर्नुभयो । सो अवसरमा  नेपालका ट्राफिक प्रहरीबाट भारतीय सवारीचालक र सहचालकलाई नेपालको  सवारी  नियमबारे जानकारी गराइएको थियो ।  

सो अवसरमा मेचीनगर —६ का वडाध्यक्ष ललितकुमार तामाङले दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालनमा आएपछि दुबै देशको धार्मिक पर्यटन र व्यवसाय वढने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारत बस सञ्चालनपछि सीमामा आउजाउ गर्ने मानिसले भोग्दैआएका यात्रु लुटिनेलगायातका समस्या  कम हुने व्यवसायीको विश्वास छ । आसाम मेघालयका यात्रुहरुले समेत सहज रुपमा यात्रा गर्न सक्ने  हुँदा दुबै देशकका नागरिकले यसको फाइदा लिन सक्ने स्थानीयको भनाइ छ । 

तेन्जिङ्ग नोर्गे सिलिगुडी बस टर्मिनलबाट काठमाडौंका लागि २२ जना यात्रु लिएर बस सञ्चालनमा आएको हो । अब हप्ताको  सातैदिन बसले सेवा दिने  र हरेक दिन सिलिगुडी भारत र काठमाडौंबाट एकसाथ दुई बस छुट्ने भारतीय यातायात कम्पनीका पार्थ प्रतिम रायले बताउनुभयो । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्ने र त्यसका लागि यात्रुले १ हजार ५ सय भारतीय रुपियाँ बस भाडा तोकिएको छ ।