• ३ असार २०८१, सोमबार

शून्य लागतमा श्रमिक लैजाने सहमति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २३ गते  । मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा ४५० नेपाली श्रमिक लैजाने गरी द्विपक्षीय सम्झौता गरेको छ । मलेसियाको बिस्र्टन टेक्नोलोजी र नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा मङ्गलबार द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । 

सम्झौतापत्रमा बिस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेसनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको यो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ ।

आकर्षण इन्टरनेसनलबाट १४० महिला र ६० पुरुष गरी दुई सय जना र लालधनुष इन्टरनेसनलबाट १७५ महिला र ७५ पुरुष गरी २५० श्रमिक मलेसिया जानेछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँ आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ । 

यो कम्पनीको चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायतका देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । कम्पनीमा विभिन्न देशमा गरी झन्डै ८० हजार श्रमिक कार्यरत छन् । श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको पनि जानकारी दिइएको छ । कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबसहित अतिरिक्त भत्ता र बोनस गरेर मासिक बढीमा तीन हजार २२३ रिङ्गेट मासिक वार्षिक बिदाको व्यवस्था रहेको छ ।